जनकपुर :
मधेसबाहेक छ वटा प्रदेशले सरकार गठनको आह्वान गरेका छन्।
प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरिएको हो।
नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत नदेखिएकाले सोही धाराको उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार गठनका लागि आह्वान गरिएको छ।
प्रदेश १ मा पुस २४ गते बेलुका ५ बजेभित्र दाबी पेस गर्न भनिएको छ। ९३ सदस्सीय प्रदेशसभामा नेकपा एमालेको ४० सिट छ भने कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, एकीकृत समाजवादीको चार र जनता समाजवादी पार्टीको एक सिट छ।
प्रदेश १ मा सत्तारुढ दल एमाले र माओवादी दुबैले नेतृत्वका लागि दाबी गर्दै आएका छन्। एमालेबाट हिक्मत कार्की मुख्यमन्त्रीका आकांक्षी छन् भने माओवादीबाट इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीमा दाबी गर्दै आएका छन्।
त्यस्तै बागमती प्रदेशमा पुस २५ गते ४ बजेभित्र मुख्यमन्त्रीको दाबी गर्न आह्वान गरिएको छ। ११० सदस्सीय प्रदेशसभामा कांग्रेसको ३७, एमालेको २७,माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो पार्टीको २ सिट छ।
बागमती प्रदेशमा सत्तारुढ दल एमाले, माओवादी र राप्रपासमेतले मुख्यमन्त्रीको दाबी गरेका छन्। एमालेबाट जगन्नाथ थपलिया, माओवादीमा शालिराम जमरकट्टेल र राप्रपाबाट उद्वव थापाले सरकार नेतृत्वको दाबी गर्दै आएका छन्।
त्यस्तै गण्डकी प्रदेशमा सरकार गठनका लागि पुस २५ गते ४ बजेकै समयसीमा तोकिएको छ। ६० सदस्सीय प्रदेशसभामा कांग्रेसको २७, एमालेको २२, माओवादीको ८, राप्रपाको २ र नेकपा एकीकृत समाजवादीको एक सिट रहेको छ।
गण्डकीमा सत्तारुढबाट एमालेले दाबी गर्दै आएको छ। त्यसमा अन्य दलहरू सहमत भएको बताइन्छ। एमालेले खगराज अधिकारीलाई सरकारको नेतृत्व सुम्पिने तयारी गरेको छ।
त्यस्तै लुम्बिनी प्रदेशमा सरकार गठनका लागि पुस २७ गते ४ बजेको समय तोकिएको छ। ८७ सदस्यीय प्रदेशसभामा एमालेको २९, कांग्रेसको २७, माओवादीको १०, राप्रपा र नागरिक उन्मुक्तिको ४-४, जसपा र जनमतको ३-३ सिट रहेको छ।
सत्तारुढ दलबाट एमाले र माओवादीले सरकार नेतृत्वको दाबी गर्दै आएको छ। एमालेबाट लीला गिरी र माओवादीबाट जोखबहादर महरा मुख्यमन्त्रीमा दाबी गर्दै आएका छन्।
त्यस्तै कर्णाली प्रदेशमा पुस २७ गते साँझ ५ बजेको समयसीमा तोकिएको छ। ४० सदस्सीय प्रदेशसभामा कांग्रेसको १४, माओवादीको १३, एमालेको १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रबाट एक-एक सिट रहेको छ। कर्णालीमा सत्तारुढबाट एमालेले सरकारको नेतृत्व दाबी गरेको छ। एमालेबाट यामलाल कँडेल मुख्यमन्त्रीका दाबेदार छन्। एमालेले कँडेलकै नेतृत्वमा सरकार बनाउने तयारीसमेत गरेको छ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा पनि पुस २७ गतेकै समय तोकिएको छ। ५३ सदस्सीय प्रदेशसभामा कांग्रेसको १९, माओवादीको ११, एमालेको १०, नागरिक उन्मुक्तिको ७, नेकपा एकीकृत समाजवादीको ४, राप्रपा र स्वतन्त्रको एक-एक सिट रहेको छ।
सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादीले नेतृत्व दाबी गर्दै आएका छन्। त्यसो त निर्णायक मानिएको नागरिक उन्मुक्ति पनि मुख्यमन्त्रीको दाबी गर्दै आएको छ। सुदूरपश्चिममा माओवादीबाट खगराज भट्ट मुख्यमन्त्रीका प्रबल आकांक्षी हुन्।
