जनकपुरधाम । कमला नगरपालिका–८ सोनापारमा निर्माणाधीन स्थानीय सडक एक महिनादेखि अलपत्र छाडिएको छ। बद्री माझी यादवको घरदेखि बलराम बिराजी यादवको घरसम्म ढलान गर्ने योजना सुरुवातमै विवादमा परेपछि काम रोकिएको हो।
गत असार २० गते इँटाको सोलिङ गरेर ढलान सुरु गरिएको थियो। तर स्थानीय युवाहरूले ‘दुई नम्बरको इँटा’ प्रयोग गरी काम गुणस्तरहीन भएको भन्दै काम अवरुद्ध गरिदिएका छन्।
उनीहरूको आरोपमा यो सडक निर्माण बिना डिजाइन, बिना इस्टिमेट र कमिसनको आधारमा सुरु भएको हो।
युवाहरूले भने, “अरू सडकमा नालासहित ढलान भएको छ तर यहाँ नाला विना कमजोर इँटा प्रयोग गरेर काम भइरहेको छ। यसरी काम गरे अख्तियारमा उजुरी दिन्छौं।”
आवतजावतमा समस्या, स्थानीय घाइते
सडक बीचमै इँटा छाडिएका कारण स्थानीयको आवतजावत कठिन भएको छ। चिप्लिएर घाइते हुने घटना बढेको छ भने वर्षायामसँगै सडक हिलो, खाल्डाखुल्डी र फोहोरले भरिएको छ।
यसले बालबालिका, वृद्धवृद्धा र सर्वसाधारण सबैलाई समस्यामा पारेको स्थानीय बासिन्दा शम्भु यादव, उमेश यादव, धर्मेन्द्र यादव, दिपेन्द्र यादव, रोशन गोइत यादव, अमित यादव र वासु बिराजी यादवले गुनासो गरेका छन्।
वडाअध्यक्षको भनाइ
यस विषयमा वडा अध्यक्ष तृपित भुडेर यादवले भने काम सुरु हुनु अघि कसैले गुनासो नगरेको दाबी गरे। उनका अनुसार ठेकेदारले असार १८ गतेदेखि काम गर्नुपर्ने भए पनि असार २० बाट सुरु गरेको हो।
“इँटा हाल्नासाथ केही युवाहरूले राजनीतिक कारण देखाएर काम रोके,” उनले भने। ठेकेदारले ३–४ लाख रुपैयाँ बराबरको सामग्री लगानी गरिसकेको उल्लेख गर्दै उनले थपे – “यदि इँटा नै चाहिँदैन भने हटाइदिन्छौं, तर यसरी काम अघि बढ्छ कि बढ्दैन भन्ने ठेगान छैन।”
