जनकपुर– कमला नगरपालिकामा जारी कमला क्रिकेट लिग २०८२ (प्रथम सिजन) अन्तर्गत अब अन्तिम खेलमा वडा नं. ४ र वडा नं. ५ भिड्ने भएका छन्।
असार २० गते सुरु भएको लिगको फाइनल खेल साउन २ गतेमै हुने तय भएपनि लगातारको वर्षा, खेल अवरोध तथा आन्तरिक कारणले खेल सारिँदै आएको थियो। झण्डै एक महिनापछि, अब अन्ततः फाइनल खेल शुक्रबार दिउँसो १२ बजे हुने भएको हो।
प्रतिस्पर्धी टिमको प्रदर्शन
कमला युवा सञ्जालद्वारा आयोजित प्रतियोगितामा नगरपालिकाका ९ वटै वडाले सहभागिता जनाएका थिए। लिग चरणमा वडा नं. ४ ले ६ खेलमध्ये ४ जित्दै सेमिफाइनल पुगेको हो। उता वडा नं. ५ ले ५ खेलमध्ये ४ मा जित हात पार्दै उत्कृष्ट प्रदर्शन गरेको थियो।
प्रि–सेमिफाइनलमा वडा नं. ५ ले वडा नं. २ सँग प्रतिस्पर्धा गरेको थियो। त्यस खेलमा अम्पायरको एक विवादास्पद निर्णयले असर पारेको थियो। वडा नं. २ का चम्किला ब्याट्सम्यान रामईश्वर यादवले १२ बलमा ४३ रन जोडिरहेका बेला उनलाई विवादास्पद रूपमा आउट दिइएपछि वडा नं. २ पराजित भयो।
फाइनलका लागि तयारी पूरा
फाइनल खेल २० ओभरको हुनेछ। विजेता टिमलाई २५ हजार रुपैयाँ नगद र ट्रफी, उपविजेतालाई १५ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिने आयोजक अध्यक्ष विमलेश यादवले जानकारी दिए।
खेलप्रेमीहरूका लागि आजको फाइनल रोमाञ्चक हुने देखिन्छ।
