जनकपुर – धनुषाको सबैला नगरपालिकामा दुई समुदायबीच बढेको तनावका क्रममा प्रहरीले चलाएको गोली लागेर एक व्यक्ति गम्भीर घाइते भएका छन्। मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यका अनुसार घाइते व्यक्ति स्थानीय सन्तोष यादव हुन्।
सोमबार दिउँसो यादव समुदायले ‘यादव चोक’ लेखिएको बोर्ड राखेपछि अर्को समुदायका व्यक्तिले उक्त बोर्ड हटाए, जसका कारण विवाद चर्किएको थियो। विवाद नियन्त्रण गर्न खोज्दा स्थिति झन् जटिल बन्दै गएपछि प्रहरीले बल प्रयोग गर्नुपरेको डीआईजी आचार्यले बताए।
उनका अनुसार विवाद समाधानका क्रममा केही व्यक्तिले प्रहरीमाथि हातपात गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो, जसबाट सन्तोष यादव गम्भीर रूपमा घाइते भएका छन्।
यसअघि आइतबार पनि दुई समुदायबीच विवाद भएको थियो। त्यस दिन प्रहरी प्रशासनले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो।
