जनकपुरधाम – आउँदो चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावलाई लिएर जनकपुरको राराब क्याम्पसमा माहोल तातिएको छ। विद्यार्थी नेताहरू चुनावी प्रतिस्पर्धामा जुटिरहेका बेला अजय पण्डित प्रमुख दावेदारका रूपमा अगाडि देखिएका छन्।
वि.सं. २०८० को स्ववियु चुनावपछि राराब क्याम्पसमा एक प्रभावशाली विद्यार्थी नेताका रूपमा उदाएका पण्डित विद्यार्थीहरूको विश्वास जित्न सफल भएका छन्। कलेजमा देखापर्ने विविध समस्याहरूलाई समाधान गर्न सक्रिय रहँदै आएका उनले विद्यार्थी समुदायबीच लोकप्रियता कमाएका छन्।
राजनीतिक दलहरूसँग आबद्ध विभिन्न विद्यार्थी नेताहरू प्रतिस्पर्धामा रहे पनि अजय पण्डितलाई विद्यार्थीहरूले पार्टीभन्दा बाहिर गएर व्यक्तिगत रूपमा समर्थन गरिरहेका छन्। जातपातको आधारमा मतदान गर्ने प्रवृत्ति देखिएको क्याम्पसमा उनले व्यक्तिगत विचार र समर्पणका कारण व्यापक समर्थन पाइरहेका छन्।
लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ) का नेतृत्त्व गरिरहेका अजय पण्डित स्ववियु चुनावमा अग्रणी उम्मेदवारका रूपमा हेरिएका छन्। विद्यार्थीहरूमाझ उनको लोकप्रियता र प्रभावलाई हेर्दा उनी प्रतिस्पर्धीभन्दा बलियो उम्मेदवारको रूपमा उभिने देखिन्छ।
