काठमाडौं – भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा मंगलबार राति भागदौड मच्चिँदा कैयौं श्रद्धालु हताहत भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार कम्तिमा १० जनाले ज्यान गुमाएका छन् भने केही स्रोतले मृतक संख्या १५ पुगेको दाबी गरेका छन्। समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै प्रयागराज सिटीका एक डाक्टरले नाम उल्लेख नगर्ने शर्तमा १५ जनाको मृत्यु भएको बताएका छन्।
भारतीय दैनिक दैनिक भाष्कर का अनुसार घटनामा १४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्। स्वारुपरानी अस्पतालमा १४ शव ल्याइसकिएको सो पत्रिकाले जनाएको छ।
हालसम्म सरकारी निकायले भने आधिकारिक रूपमा मृतक संख्याबारे कुनै पुष्टि गरेको छैन। घटनापछि केही समयका लागि अमृत स्नान स्थगित गरिएको छ।
१३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेला मा हालसम्म झण्डै १५ करोड श्रद्धालुले गंगामा स्नान गरिसकेका छन्। विशेष अवसरका रूपमा बुधबार पर्ने मौनी अमावस्या का दिन मात्र १० करोड भन्दा बढी भक्तजन उपस्थित हुने अनुमान गरिएको थियो।
तर मंगलबार राति नै संगम क्षेत्रमा अचानक भागदौड मच्चिएको थियो। अत्यधिक भिडका कारण कयौं श्रद्धालु कुल्चिएर घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रशासनले ब्यारिकेड हटाएर सडक खुला गरेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदी ले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सँग फोन संवाद गरी घटनाको जानकारी लिएका छन्। मुख्यमन्त्री आदित्यनाथले श्रद्धालुहरूलाई संगम क्षेत्रतर्फ जानुको सट्टा जहाँ छन्, त्यहीँ गंगा स्नान गर्न आग्रह गरेका छन्। साथै, उनले प्रशासनको निर्देशन पालना गर्न र अफवाहमा नफस्न अनुरोध गरेका छन्।