काठमाडौं । ओमनाथ शर्माको अध्यक्षतामा एस टुगेदर वि क्यान संस्थामा नयाँ कार्यसमिति चयन भएको छ ।
महान्यायाधिवक्ता रमेश बडालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको चौथो अधिवेशनबाट १९ सदस्यीय कार्यसमिति चयन भएको छ ।
उपाध्यक्षमा श्वेता झा, श्रवण यादव, मुकेश साह र सचिवमा शिवाजी प्रसाद कुशवाहा र कोषाध्यक्षमा शिव यादव सहित नयाँ कार्यसमिति चयन भएको निवर्तमान उपाध्यक्ष शमशाद आदिलले बताए ।
नयाँ कार्यसमितिलाई निवर्तमान अध्यक्ष अधिवक्ता चूडामणि यादवले बधाई दिँदै सिक्ने सिकाउने उद्धेश्य लिएर सञ्चालनमा आएको संस्था विद्यार्थीहरू माझ लोकप्रिय हुँदै गएकोमा खुशी व्यक्त गर्दै संस्थाको भावना निरन्तरता पाउने आशा जाहेर गरेका थिएँ ।
त्यस्तै संस्थापक अध्यक्ष अधिवक्ता गोविन्द साहले नयाँ कार्यसमितिलाई बधाई दिँदै नयाँ कार्यसमितिलाई मनोबल उच्च राख्दै नयाँ ऊर्जाका साथ काम गर्दै अगाडि बढ्न जरुरी रहेको बताएका थिए ।
यस्तै प्रथम संयोजक अधिवक्ता विकास गुप्ता, अधिवक्ता माजिद प्रवेज,अधिवक्ता विकास ठाकुर , सर्वोच्च बार एशोसियसनका सचिव अधिवक्ता रमन कर्ण लगायतले शुभकामना व्यक्त गर्दै क्षमता अभिवृद्धि र नेतृत्व विकासमा लागि राख्न हौसला प्रदान गरेका थिए। सहयोग सहकार्य र सामूहिक लक्ष्य प्राप्तिको भावनाले अगाडि बढ्न सुझाव दिएका थिए।
एस टुगेदर वि क्यान विशेष गरी उत्पीडित बहिष्कृत समुदायको विद्यार्थीहरूको साझा संस्थाको रूपमा रही समसामयिक विषयबस्तुमा वैचारिक बौद्धिक बहस अन्तरक्रिया कार्यक्रम गर्दै आएको पूर्व उपाध्यक्ष आदिलले बताए। उनका अनुसार विगत सात वर्ष देखि कार्यरत रहेको संस्थाले सार्वजनिक विषय बारे मन्थन गर्ने पहिचान स्थापित गर्दै युवाहरुमा ज्ञान निर्माणमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न अग्रसर गर्दै आएको छ ।
नव नियुक्त शर्माले नयाँ कार्यसमितिले आफ्नो अभ्यासलाई निरन्तरता दिँदै अझ परिष्कृत भएर कार्यक्रम गर्दै जाने बताएका छन् ।
त्यस्तै अधिवेशनले क्याम्पस प्रमुखको रूपमा अल्का यादव लाई चक्रवती ल कलेज, सुजित ठाकुरलाई न्याशनल ल कलेज र वसन्त कुशवाहालाई नेपाल ल क्याम्पस संयोजकको रूपमा सर्वसहमतिले नियुक्त गरेको छ।