काठमाडौं – टी-२० आईसीसी विश्वकपको पहिलो खेलमा आयोजक अमेरिकाले शानदार जित निकालेको छ। आरोन जोन्स र एन्ड्रिज गौसको ऐतिहासिक साझेदारीमा क्यानडामाथि घरेलु मैदानमा १४ बल खेल्न बाँकी हुँदा अमेरिकाले ७ विकेटको शानदार जित निकालेको हो ।
टस जितेर सुरुमा फिल्ड रोजेको अमेरिकाले क्यानडाले दिएको १९५ रनको लक्ष्य १७.४ ओभरमा तीन विकेट गुमाएर १९७ रन बनाउँदै भेट्टाएको हो।
अमेरिकाका लागि आरोन जोन्सले २२ बलमा ५० रन बनाउँदै विश्वकपमा अमेरिकाका लागि थोरै बलमा अर्धशतकको रेकर्ड बनाए। उनले अर्धशतकका लागि १ चौका र ६ छक्का प्रहार गरे। उनले नटआउट ४० बलमा १० छक्का र चार चौका प्रहार गर्दै सर्वाधि ९४ रन बनाए।
अमेरिकाका अर्का ब्याट्सम्यान एन्ड्रिज गौसले ३९ बलमा अर्धशतक पूरा गरे। उनले ६ चौका र दुई छक्काको मदतमा ५३ रन बनाएका हुन्। उनी ४६ बल खेल्दै सात चौका र तीन छक्काको मद्दतमा ६५ रन बनाएर आउट भए। उनले आरोन जोन्ससँग ५८ बलमा १३१ रनको साभेदारी गरे।
ओपनर स्टीवन टेलरलाई दोस्रो बलमा शून्यमै गुमाएको अमेरिकाको खराब सुरुवात गरेको थियो। दोस्रो विकेटको रुपमा अमेरिकाले मोनांक पटेललाई गुमाएको थियो। उनले १६ बलमा दुई चौकाको मद्दतमा १६ रन मात्र जोडेका थिए। आरोन र एन्ड्रिजको साझेदारीले अमेरिकाले ब्याटिङ लाइनलाई उकासेको थियो।
अमेरिकाविरुद्ध खराब बलिङ गरेको क्यानडाका लागि कलीम साना, डिलोन हेलिगर र निखिल दत्तले समान एकएक विकेट लिए।
