जनकपुरधाम । जनकपुरमा साँझ नेपाल रेल्वेले ठक्कर दिएपछि मोटरसाईकल चालक युवक अस्पताल भर्ना भएका छन् ।
नेपाल रेल्वेले जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ मिल्स एरियास्थित रेल्वे ट्रयाकमा रहेको मोटरसाईकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
रेल्वे आईरहँदा पनि चालकले बलजबरदस्ती मोटरसाईकल चढाउन खोज्दा पटरी (लीक) मा मोटरसाईकल फँसेको थियो । प्रदेश २–०२–००३ प ००९० नम्बरको मोटरसाईकल रेल्वेको ठक्करले चकनाचुर भएको छ ।
मोटरसाईकल चालक जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ बेँगाशिवपुर बस्ने बर्ष २६ को राकेश कुमार यादवलाई चोट लागेको प्रहरीले जनाएको छ । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको छ ।

प्रहरीका अनुसार, साँझ ७ः२५ बजे रेल्वे आउने समयमै रेल्वे ट्रयाकमा मोटरसाईकल क्रस गर्न खोजेपछि ठक्कर दिएको हो । मुख्यमन्त्री कार्यालयभन्दा पूर्व रहेको मोनाष्टिक उच्च माविको बाटो (बेँगाशिवपुर–धनुषाधाम) जाने बाटोमा मोटरसाईकल क्रस गर्न खोज्दा दुर्घटना भएको हो ।
रेल्वे आफ्नै समयमा आईरहेको बेला जनकपुरधाम स्टेशनदेखि नै लगातार हर्न दिएपनि यादवले मोटरसाईकल जबरदस्ती चढाएका थिए । जनकपुरबाट कुर्थाको लागि जाँदै गरेको नेपाल रेल्वे लगातार हर्न दिँदा पनि यादवले रेल्वे ट्रायक क्रस गर्न खोज्दा ठक्कर दिएको थियो ।
ठक्करले मोटरसाईकल क्षतिग्रस्त भएको छ भने मानवीय क्षति भने भएको छैनन् ।