जनकपुर ।
सीमाक्षेत्र भोटेकोसी गाउँपालिका– ४ फुल्पिङकट्टीमा मंगलबार राति १४ घरमा चोरी भएको छ ।
ठूलो समूहमा आएका चोरले घरमा भएका सुनचाँदी, नगद र जिन्सी सामग्रीसमेत लुटपाट गरेका छन् ।
वडाध्यक्ष टासी शेर्पाले दिएको जानकारीअनुसार १४ घरबाट ११ तोला सुन र सात लाख ९० हजार नगद चोरी भएको छ ।
नारायणथान गाउँको शिरदेखि पुछारसम्म छानीछानी १४ घर चोरी भएको वडाध्यक्ष शेर्पाले बताए । घरमूली अन्यत्र गएको मौका छोपी घरको झ्यालढोका तोडेर चोरी भएको हो ।
गाउँको बीचमा सीमा सुरक्षा र गौरीशंकर संरक्षण क्षेत्रको रक्षार्थ प्रहरी सहायक निरीक्षकको कमान्डमा जनपथ प्रहरी छ । तर, रातको १२ बजेदेखि ३ बजेसम्म चोरी भएको प्रहरीले बताएको छ ।
गाउँका मानिस धार्मिक कार्य र आफन्त भेट्न गएको मौका छोपेर चोरी भएको हो । चोरको समूहले बुद्धधर्मका लामाले प्रयोग गर्ने मूल्यवान सामग्री पनि लगेका छन् । सबै घरमा चोरी भएको सामग्रीको विवरण प्रहरीले संकलन गरिरहेको छ ।
गाउँमा रहेको सिसिक्यामेरा फुटेजमा सेतो कपडा लगाएको मान्छे देखिए पनि अनुहार पूरै ढाकेको र पेसेवर समूह संलग्न रहेकाले प्रहरीले चोर पत्ता लगाउन सकेको छैन ।
‘केस गम्भीर भएकाले अनुसन्धान गरिरहेका छौँ,’ प्रहरी सहायक निरीक्षक नेत्र काफ्लेले भने । सीमाक्षेत्र भएकाले यस घटनालाई प्रहरीले गम्भीरतापूर्वक लिएको उनले बताए ।
चोरीको घटना दोहोरिन नदिन र लुटपाटमा संलग्न समूहलाई नियन्त्रण गर्न भोटेकोसीका जनप्रतिनिधि, प्रहरी र स्थानीयले संयुक्त रूपमा रातभर गस्ती गरिरहेका छन् । वडाध्यक्षहरूले स्थानीयलाई सचेत गराउन माइकिङसमेत गरेका छन् ।