जनकपुर ।
ट्विटरका सीईओ एलन मस्कले गतवर्ष कम्पनी खरिद गर्नु अघि नै एक सर्वेक्षणात्मक पोस्ट गर्दै कम्पनीको नाम परिवर्तन गर्ने वा नगर्ने भनेर सोधेका थिए ।
त्यसमा ५६ प्रतिशत प्रयोगकर्ताले गर्ने भन्नेमा मत राखेका थिए ।
केही दिनअघिदेखि ट्विटरको मुख्यालयमा कम्पनीको साइनबोर्डमा डब्लु हटाइएको तस्बिरहरु सार्वजनिक भएका थिए । तर, धेरैले त्यो फोटोसप गरेको हुनसक्ने भन्दै खासै मतलब गरेका थिएनन् ।
तर, सोमबार मस्क आफैले यसको पुष्टि गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा मस्कले ट्विटरको मुख्यालयमा रहेको साइनबोर्डमा ट्विटरको अक्षरमध्ये डब्लुमाथि रंग लगाएको फोटो पोस्ट गरेका छन् ।
मस्कले फोटो सेयर गर्दै लेखेका छन्, “हाम्रो घरधनीले कानुनी रुपमा ट्विटरको नामबाट डब्लु हटाउन नसकिने भनेपछि हामीले यसलाई रंगाइदियौं, समस्या समाधान भयो ।”
मस्कले केहीदिन अघि ट्विटरको आइकन फेरेका थिए । तर, त्यसको केही दिनपछि पुनः उनले पुरानै आइकन राखेका थिए ।
५१ वर्षका अर्बपति लामो समय विश्वकै धनाढ्य रहेका मस्क स्पेसएक्स, टेस्ला, स्टारलिंक, बोरिंग कम्पनीका संस्थापक एवं मालिक हुन् ।