जनकपुर ।
सिरहाको लहान नगरपालिका– ८ का एक युवकले कुटपिटमा परेपछि विषादी सेवन गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न रहेको आरोपमा सोधपुछका लागि दुईजनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि राजलाल साह र उनका नाति भीम साहलाई आइतबार बिहान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
लहान– ८ घर भई स्थानीय प्रिया जनरल स्टोरमा कार्यरत २१ वर्षीय हरिभजन मण्डलको शनिबार राति घर फर्किने क्रममा स्थानीय राजलाल साहले अण्डा बेच्ने ठेलाले पछाडिबाट धक्का दिएपछि सामान्य विवाद भएको थियो ।
विवादपछि घर पुगेका मण्डललाई पछ्याउँदै गएका साहले आफ्ना छोरा शिव, भोला र नाति भिमलाई बोलाएर कुटपिट गरेका प्रत्यक्षदर्शी छिमेकीहरुले बताए ।
कुटपिटपछि गम्भिर घाइते भएका मण्डललाई छिमेकीहरुको सहयोगमा बाबु रामकुमार मण्डलले उपचारका लागि स्थानीय नर्सिङ होम पुर्याएका थिए ।
त्यहाँ पुर्याएलगत्तै दुई–तीन पटक बान्ता गरेका मण्डलको अवस्था गम्भिर बन्दै गएपछि तत्काल रेफर गरी विराटनगरस्थित विराट नर्सिङ् होम पुर्याए पनि उपचार शुरु हुनु अगावै मृत्यु भएको परिवारले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कृष्ण खत्रीका अनुसार आफूलाई घरमै आएर कुटपिट गर्दा पनि परिवारले प्रतिरक्षा नगरेको आवेशमा विषादी सेवा गरेको हुनसक्ने आशंका गरिएको छ ।
यद्यपि, पोष्टमार्टम रिपोर्ट आएपछि मात्र कुटपिट वा विषादी सेवन के कारणले मृत्यु भएको हो भन्ने खुल्ने प्रहरी निरीक्षक खत्रीले बताए ।
उनका अनुसार मृतकका काका मुन्ना मण्डलले लहान प्रहरीमा विषादी सेवनबाट भतिजाको मृत्यु भएको भन्दै जाहेरी दिएकाले प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको छ ।
उपचारका लागि विराटनगर पुर्याइएका मण्डलको साथबाट स्थानीय प्रहरीले सेल्फस नामको विषादीको बट्टा बरामद गरेको थियो ।