जनकपुर —
पुस्तैनी बासस्थानका लागि संघर्ष गर्दै आएका सर्लाहीको कविलासी नगरपालिका–७ का उपेन्द्र धनुकारले आत्महत्या गरेका छन् ।
आइतबार आफ्नै घरमा पासो लगाएको अवस्थामा धनुकारको शव फेला परेको हो । चार पुस्तादेखि बसोबास गर्दै आएको घरघडेरी छोड्नुपर्ने भएपछि उनले आत्महत्याको बाटो रोजेको आफन्तको भनाइ छ ।
प्रहरीले उनको शव पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाएको छ । आक्रोशित आफन्तले ‘भूमाफिया’ ले आत्महत्या गर्न विवश पारेको आरोप लगाउँदै नवलपुर मलंगवा सडक अन्तर्गत गैरचोकमा सडक अवरुद्घ पारेका थिए । उनीहरूले न्यायिक छानबिनको समेत माग गरेका छन् ।
कुल ८ कट्ठा ४ धुर रहेको यो बस्तीमा २४ घर मुसहर परिवार वर्षौंदेखि बसोबास गर्दै आएका छन् । चार पुस्ताअघि तत्कालीन जमिन्दार मदनकृष्ण प्रसाईंले मुसहरहरूलाई बसोबास गर्न जग्गा दिएको स्थानीयको भनाइ छ ।
यो जग्गा २०६७ सालमा अदालतबाट पर्ति भनेर लिलाम सकार भएको छ । अदालतको रेकर्डअनुसार सिर्सियाका रामकैलास रायसँग प्रसाईंका छोरा मुकुल प्रसाईंले ऋण लिएर तिर्न नसक्दा लिलाम गरिएको उल्लेख छ ।
आफ्नो नाममा जमिन आएपछि राय पटकपटक मुसहर बस्तीमा प्रहरीसहितको उपस्थितिमा डोजर लिएर पुग्ने गरेका थिए । तर त्यहाँका मुसहर समुदायसहित अन्य स्थानीयको अवरोधका कारण प्रहरी पछाडि हट्नुपरेको थियो ।
मुसहर समुदाय र रायबीचको विवाद समाधानका लागि पटक–पटक पहल भए पनि निष्कर्षमा पुग्न सकेको छैन । दुवै पक्ष आआफ्नो अडानमा छन् । शुक्रबार पनि कविलासी चौकीमा यसै विषयमा छलफल भएको थियो ।
छलफलमा ७० लाख रुपैयाँ लिएर जग्गा खाली गर्ने सहमति भएको थियो । त्यो सहमति मान्य नहुने जनाउँदै धनुकारले अदालतमा सकार भएको मूल्य आफूहरूले तिरेर आफ्नै नाममा हुनुपर्ने अथवा भोगचलन गर्दै आएको जग्गाको कम्तीमा आधा हुनुपर्ने अडान लिएका थिए ।
नागरिक अगुवा रजनीकान्त झाले धनुकारले पुस्तैनी घडेरीका लागि लड्दालड्दै फैसला सोचेअनुसार नआएपछि प्राण त्यागेको हुन सक्ने बताए । ‘मुसहर बस्तीका लागि उपेन्द्र नै अगुवा थिए, उनी बसोबास रहेको जग्गा छोड्ने पक्षमा थिएनन्,’ स्थानीय समेत रहेका झाले भने, ‘अदालतबाट निर्णय भइसकेको र सामाजिक रूपमा कमजोर रहेका धनुकार विवश भएर आत्महत्या गरेको हुनसक्छ ।’ मानवअधिकारको पक्षमा समेत वकालत गरिरहेका झाले यसको न्यायिक छानबिन हुनुपर्ने माग गरे ।
४० वर्षीय धनुकार आफ्नो समुदायको नेतृत्वकर्तासमेत थिए । उनकी पत्नी रेखा धनुकार पति वियोगमा छिन् । वडा सदस्यसमेत रहेकी रेखा पुस्तैनी घडेरीका कारण पछिल्लो समय श्रीमान् तनावमा रहने गरेको सुनाइन् ।
उनले घडेरी आफ्नो नाममा नआएपछि मृत्युको बाटो रोजेको बताइन् । ‘दस वर्षदेखि निकै तनाव भइरहेको थियो, अदालतलाई झुक्याएर आफ्नो नाममा घडेरी पास गराएका रायले कहिले डोजर लिएर घर तोड्न आइपुग्ने, त कहिले गाली बेइज्जती गर्ने गरेका थिए,’ उनले भनिन्, ‘अब त श्रीमान्को प्राण नै रहेन, कसरी बालबच्चालाई स्याहार गर्नु ?’ प्रसाईंको घरमा ज्यालामा काम गर्ने रायले उनैलाई ऋण दिएर जग्गा लिलाम सकार्नुले यसमा चलखेल भएको स्थानीयको भनाइ छ । वर्षौंदेखि अभाव र गरिबीसँग जुध्दै आएका मुसहर समुदायलाई घरबारविहीन बनाएर थप पीडा दिन खोजिएको उनीहरूको आरोप छ ।