.
जनकपुरधाम ।
मधेसका जिल्लाहरु हिजो र आज होलीमा रंगिएको छ । जनकपुरधामबाहेक हिजो अधिकांश मधेसी समुदायले उत्साहपूर्वक होली मनाएका थिए ।
आपसमा रंग र अबिर दलेर तथा विभिन्न लोकगीत र मिष्ठान्न परिकार खाएर मधेसमा होली मनाइएको छ । मधेसका शहरदेखि गाउँघरसम्म होलीको रौनक छायो । होलीको गीतले मधेस गुञ्जयमान भयो ।

मधेसमा होली भाउजू, देवर, नन्द, भिनाजु र सालीको लागि महत्वपूर्ण दिन मानिन्छ । देवर र नन्दले भाउजूलाई, भाउजूले देवर र नन्दलाई तथा भिनाजुले सालीलाई तथा सालीले भिनाजुलाई रंग लगाउँदै हँसीठट्टा गर्दै मधेसमा होली मनाउने चलन छ । तिनीहरूले एकअर्काको शरीरभरि रंग दल्ने गर्छन् ।

होली पर्वमा आपसी द्वेष बिर्सेर सबैले एकअर्कालाई रंग दल्ने, मिल्ने साथी, इष्टमित्र र छिमेकीलाई घरमा बोलाएर मालपुवा, खजुरी, पुरीलगायतका मीठा परिकार र माछामासुका परिकार खुवाउने र खाने प्रचलनले गर्दा यसलाई सामाजिक सद्भावको पर्व मानिएको हो ।
सामाजिक सद्भाव अभिवृद्धि गर्नु, सबै खुशीयालीपूर्वक होली मनाउनु, विगतका वैमनश्यलाई बिर्सेर नयाँ सम्बन्ध बनाउनु नै यस पर्वको मुख्य आकर्षण रहेको बताउँछन् ।
होली उत्साह र मनोरञ्जनको पर्व पनि हो । तर, होलीको अवसरमा मनोरञ्जनको नाममा पछिल्लो समय मदिरा र भांग, गाँजा र अन्य नशालु पदार्थ सेवन गरी झैंझगडा गर्ने, बाटो हिँडिरहेका महिलालाई बलजफ्ती रंग दल्ने, जिस्काउनेलगायतका विकृति बढेको छ ।

होली मर्यादित बनाउन हरेक जिल्लामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।







