.
जनकपरधाम :
धनुषाको मिथिला नगरपालिकामा मौसमबारे जानकारी दिने उपकरण जडान गरिएको छ।
नगरपालिकाको कार्यालय परिसरमा जडान गरिएको उपकरणले मौसमसम्बन्धी जानकारी दिने मिथिला नगरपालिकाका सूचना अधिकारी दिपेश काफ्लेले जानकारी दिए।
उनका अनुसार मौसम उपकरणले सामान्यतः बाहिरी र भित्रिको तापक्रम, वायुको चाप र दिशा, प्रकाश र वर्षाको अवस्थालगायत मौसम मापन गरेर सूचना प्रवाह गरिने छ।
उपकरणले मौसमको पूर्वानुमान तथा जलवायु परिवर्तनबारे समेत सूचना प्रवाह गर्ने भएकाले विपद व्यवस्थापनको तयारीमा थप मद्दत पुग्ने मिथिला नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं ७ का वडाध्यक्ष रामबहादुर स्याङ्दनले बताए।
मौसम सम्बन्धी दिने पूर्व जानकारीले सचेतता अपनाएर सम्भावित क्षति पनि कम गर्न सकिने उनले विश्वास व्यक्त गरे।
जडान गरिएको मौसम उपकरणले प्रत्येक दिन र प्रत्येक घण्टाको वर्षा, हावाहुरी, घाम, पानी, बादल, आद्रता तापक्रम मापन गरेर मोबाइल एपमार्फत जानकारी उपलब्ध गराउने जलवायु परिवर्तन तथा जीविकोपार्जन विज्ञ विराट पन्थले जानकारी दिए।
‘यो उपकरणले पाँच किलोमिटर एरियालाई कभर गर्छ’, उनले भने।
.
.