जनकपुर :
जनकपुर रोयल्सले नेपाल टीट्वेन्टी लिगमा सहज जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा जनकपुरले विराटनगर सुपर किङ्सलाई ४९ रनले पराजित गरेको हो।
एक सय ९० रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४० रन मात्रै बनाउन सक्यो।
विराटनगरका हुसेन तलातले सर्वाधिक ४२ रन बनाए। यस्तै प्रदीपसिंह ऐरीले ३६, गौरान्शु शर्माले ३३ र कप्तान आन्द्रे म्याकार्थीले १४ रन बनाए।
जनकपुरका समिउल्लाह सिनवारीले तीन विकेट लिए। यस्तै ललितनारायण राजवंशीले दुई तथा मोहमद अदिल अन्सारी र असान प्रियजनले एक/एक विकेट हात पारे।
यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८९ रनको योगफल खडा गरेको थियो। जनकपुरका समिउल्लाह सिनवारीले अविजित ७८ रन बनाए।
यस्तै चाडविक वाल्टनले २९, सन्दीप जोराले २०, ट्रेभोन ग्रेफिथले १९ र खड्क बोहराले १५ रन बनाए। विराटनगरका हुसेन तलात र सूर्य तामाङले दुई÷दुई विकेट लिए। नन्दन यादवले एक विकेट हात पारे।
यसैगरी अर्को खेलमा पोखरा एभेन्जर्सले लगातार दोस्रो जित हात पारेको छ। पोखराले पाँच खेलसम्म अपराजित रहेको लुम्बिनी अल स्टार्सलाई नौ विकेटले पराजित गरेको हो।
लुम्बिनीले दिएको एक सय २८ रनको मध्यम लक्ष्य पोखराले १८.२ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो। पोखरालाई जित दिलाउन आरिफ शेख र आसिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए।
आसिफ ७७ रनमा अविजित रहँदा आरिफले २६ रन बनाए। सुमित मर्हजनले १३ रनको योगदान दिए। लुम्बिनीका किशोर महतोले एक विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.५ ओभरमा अलआउट हुँदै एक सय २७ रनको योगफल खडा गरेको थियो। लुम्बिनीका हरमित सिंहले सर्वाधिक ३८ रन बनाए।
यस्तै स्याड्ली भानले १६, सुनिल धमलाले १५, योगेन्द्रसिंह कार्कीले १३, हेरी टेक्टर र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १० रन बनाए। पोखराका विपिन खत्री र जाहिर खानले तीन÷तीन विकेट लिए। आरिफ शेख, तुलबहादुर थापा र सिद्धान्त लोहनीले एक÷एक विकेट हात पारे।
लुम्बिनी ६ खेलमा १० अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानको जनकपुरले पाँच खेलमा आठ अंक जोडेको छ। तेस्रो स्थानको काठमाडौं नाइटर्स, चौथो स्थानको विराटनगर सुपर किङ्स, पाँचौं स्थानको पोखरा एभेन्जर्सको चार÷चार अंक छन्। अन्तिम स्थानको फार वेस्ट युनाइटेडको पाँच खेलमा दुई अंक छ।