जनकपुर ।
तपाईं विदेशबाट फर्किंदा साथीभाइ र आफन्तका लागि उपहार स्वरुप मोबाइल ल्याउँदै हुनुहुन्छ ? आफूले प्रयोग गरिरहेको वा गर्न तयार राखेको एउटाबाहेक अर्को मोबाइल ल्याउँदै हुनुहन्छ भने १५ पुसदेखि तपाईंले भन्सार तिरेर मात्रै विमानस्थल भन्सार जाँचपास गर्न पाउनुहुनेछ । अझ २ भन्दा बढी मोबाइल ल्याउनु भयो भने त जफत नै हुनेछ ।
कसैगरी छलेर मोबाइल भित्र्याउनु भयो भने पनि तपाईंको मोबाइलमा सिम हालेको १५ दिनपछि त्यसबाट फोन/म्यासेज गर्न मिल्ने छैन ।
१५ पुस अर्थात् आगामी शुक्रबारदेखि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) लागु हुने भएकाले विमानस्थलको भन्सार जाँचपासमा कडाइ गरिंदैछ ।
विमानस्थल भन्सार कार्यालयहरूले अहिलेसम्म विदेशबाट फर्किनेले प्रयोग गरिरहेको बाहेक अतिरिक्त एउटा मोबाइल सजिलै ल्याउन दिइरहेका छन् ।
तर, आगामी शुक्रबारदेखि भने विदेशबाट फर्किने यात्रुले विमानस्थलको भन्सार बिन्दुमा प्रयोग गरिहरेको मोबाइल ‘आफ्नो प्रयोगका लागि हो’ भन्ने घोषणा गर्नुपर्ने त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेल बताउँछन् ।
त्यसका आधारमा भन्सारले विदेशबाट झिटिगुन्टा सुविधामा आाएको मोबाइल हो’ भन्ने प्रमाणित गरेर कुनै शुल्क नलिई प्रज्ञापनपत्र दिने छ ।
यो प्रक्रियाका लागि अब भन्सार विन्दुमा पनि लाइन बस्नुपर्नेछ । दैनिक ५ सयभन्दा बढी मोबाइलको प्रज्ञापनपत्र जारी गर्नुपर्ने अनुमान गरिएको पोखरेलले बताए ।
यसरी जारी हुने प्रज्ञापनपत्रका आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएसमा दर्ता गरेर मात्रै सो मोबाइल चलाउन सकिने छ ।
तर, यात्रुसँग दोस्रो मोबाइल छ भने किनेको बिल देखाएर तोकिएको दरमा भन्सार राजस्व बुझाउनुपर्नेछ । भन्सार राजस्व तिरेपछि मात्रै सो मोबाइलको प्रज्ञापनपत्र लिन पाइनेछ । सो प्रज्ञापनपत्र नलिएमा उक्त मोबाइल नेपालमा चल्ने गरी दर्ता गर्न नै पाइनेछैन ।
तेस्रोसहित अन्य मोबाइलको हकमा भने सिधै जफत हुने प्रावधान छ । यसले विदेशबाट उपहारस्वरुप मोबाइल ल्याएमा भन्सार तिर्नैपर्ने अवस्था बन्ने भएको छ ।
विमानस्थलका भन्सार प्रमुख पोखरेल अवैध बाटोबाट मोबाइल भित्र्याउने क्रम रोक्न दूरसञ्चार प्राधिकरणले लागु गर्न लागेको एमडीएमएसलाई प्रकावकारी बनाउन विदेशमा किनिएका नयाँ मोबाइलहरुको प्रज्ञापनपत्र विमानस्थलमा लिने व्यवस्था गर्न लागिएको बताउँछन् ।
‘नेपालमै किनेर लगिएका वा एकपटक यहाँको प्रणालीमा उपयोग भइसकेका मोबाइलहरुको प्रज्ञापन लिनुपर्दैन,’ उनले भने, ‘विदेशमै किनिएको हो भने यात्रुले बोकेको एउटा मोबाइललाई विना भन्सार पासपोर्ट, भिसा र आईएमईआई नम्बरका आधारमा प्रज्ञापनपत्र दिन्छौं ।’
त्यसबाहेक यात्रुले अर्को मोबाइल ल्याएमा तोकिएको भन्सार शुल्क तिरेपछि मात्रै प्रज्ञापनपत्र दिने उनको भनाइ छ ।
त्यस्तो प्रज्ञापनपत्र नलिएका मोबाइल नेपालको सिस्टममा दर्ता भएर चल्न नपाउने उनको भनाइ छ ।
यो व्यवस्थापछि विदेशबाट उपहारस्वरुप आउने फोनको लाभ उठाइरहेका र उठाउने दाउमा रहेका धेरै व्यक्ति थप समस्यामा पर्ने भएका छन् ।