जनकपुर ।
सप्तरीको कञ्चनरूप नगरपालिकाका १२ सय २१ विपन्न परिवारका लागि सरकारले दश हजारका दरले एक करोड २२ लाख दश हजार पठाएको थियो । तर, नगरपालिकाले खर्च नै गरेन ।
उपचार नपाएर पछिल्ला दुई सातामै सप्तरीको कञ्चनरूप नगरपालिकाका पाँच विपन्न दलितको मृत्यु भएको थियो
कञ्चनरूप नगरपालिका– ४ की बबिता पासवानका आमा र भाइ । अत्यधिक टाउको दुख्दा पनि आर्थिक अभावका कारण अस्पताल जान नसकेकी २६ वर्षीया बबिताको दुई महिनासम्म घरमै छटपटाएर ९ मंसिरमा मृत्यु भएको थियो ।
‘चन्दा उठाएर भए पनि उपचार गर्न खोजेको हो, तर कसैले दिएन,’ आमा सीतादेवीले भनिन् । त्यस्तै, वडा नं. १ का सुरज सदा, ४ का राजदेव सदा, ८ का चन्दु सदा खंग र ९ का भिखो खंगले पनि उपचार अभावमै ज्यान गुमाएका थिए ।
कञ्चनरूप नगरपालिकामै केही बिरामी अहिले पनि उपचार अभावमा बाँचिरहेका छन् । स्थानीय सरकारले आपूmहरूको स्वास्थ्यप्रति कुनै चासो नदेखाएको उनीहरूको गुनासो छ ।
सप्तरीको कञ्चनरूप नगरपालिकाका पाँच विपन्न दलित युवाले आर्थिक अभावका कारण उपचार नपाएर ज्यान गुमाए ।
अन्य दर्जनौँ दलित र विपन्न परिवार उपचारको अभावमा छटपटाइरहेका छन् । तर, विपन्न परिवारका लागि आएको बजेट फ्रिज भएको पाइएको छ ।
कोरोना प्रभावित पाँच लाख विपन्न परिवारलाई दश हजार रुपैयाँका दरले राहत वितरण गर्न सरकारले गत पुस अन्तिम साता सबै स्थानीय तहमा पाँच अर्ब रुपैयाँ निकासा गरेको थियो ।
कञ्चनरूप नगरपालिकाका एक हजार दुई सय २१ विपन्न परिवारका लागि पनि सरकारले जनही दश हजार रुपैयाँका दरले एक करोड २२ लाख दश हजार रुपैयाँ पठाएको थियो । तर, सो रकम वितरण गर्न नसकेर नगरपालिकाले फ्रिज गरेको छ ।
नगरपालिका स्रोतका अनुसार त्यसरी आएको बजेट भागबन्डा नमिल्दा वितरण हुन नसकेको हो । ‘सुरुमा नगरप्रमुख वसन्त मिश्राले आफूनिकटहरूलाई बाँड्ने तयारी गरेका थिए । पछि अन्य जनप्रतिनिधि र कर्मचारीले पनि भाग खोजेपछि विवाद भयो । लामो समयसम्म भागबन्डाको कुरा नमिल्दा वितरण हुन सकेन र बजेट नै फ्रिज भयो,’ स्रोतले भन्यो ।
निवर्तमान नगरप्रमुख मिश्राले भने आफ्नो कार्यकालमा बजेट फ्रिज नभएको दाबी गरे । ‘मेरो कार्यकाल सकिनुअघि सबै काम टुंग्याइसकेको थिएँ । विपन्नहरूको छनोट भइसकेको थियो ।
वैशाखमा स्थानीय तहको निर्वाचन भएर नयाँ नेतृत्व आएपछि किन वितरण भएन भन्ने मलाई थाहा भएन,’ मिश्राले नयाँ पत्रिकासँग भने ।
कञ्चनरूप नगरपालिकामा हाल ललनप्रसाद गुप्ता मेयर छन् । उनले अघिल्लो कार्यकालका जिम्मेवार पदाधिकारीको लापरबाहीको कारण बजेट फ्रिज भएको दाबी गरे ।
‘विपन्न परिवारका लागि बजेट आएको विषयमा मैले असारको अन्तिम दिनतिर मात्र थाहा पाएँ । त्यसपछि सबै शाखामा गएर धमाधम काम गर्न निर्देशन दिएको थिएँ । नभ्याइने भएपछि फ्रिज हुनुभन्दा मैले सो बजेट आफ्नै जिम्मेवारीमा स्वास्थ्य शाखाको खातामा राख्न लगाएको थिएँ ।
तर, पछि महालेखापरीक्षकको कार्यालयले त्यसरी बजेट राख्न नमिल्ने भन्दै चिठी पठाएपछि वितरण गर्न नपाई बजेट फिर्ता भयो,’ उनले भने ।
दलित अगुवा भोला पासवानले जनप्रतिनिधिहरूबीचको विवादका कारण विपन्नका नाममा आएको बजेट फ्रिज हुनु चिन्ताजनक भएको बताए ।
‘एकातिर विपन्न जनता रोग र भोकले मरिरहेका छन् । दुई छाक टार्न धौधौ हुँदै छ । सरकारले पठाएको रकम कमिशनको चक्करमा फ्रिज हुने गरेको छ । यो जनतामाथि गरिएको धोका हो,’ उनले भने ।
राष्ट्रिय दलित आयोगको ध्यानाकर्षण
त्यस्तै, उपचार नपाएर पाँच विपन्न दलितको मृत्यु भएको विषयमा राष्ट्रिय दलित आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।
शनिबार नयाँ पत्रिकाले ‘उपचार नपाएर दुई सातामै सप्तरीको कञ्चनरूप नगरपालिकाका पाँच विपन्न दलितको मृत्यु’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । सोमबार एक विज्ञप्ति जारी गर्दै दलित आयोगले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
‘यस्ता घटना बर्सेनि हुने गरेका छन्, तैपनि नदोहोरिनका लागि राज्यले पर्याप्त पहल गरेको देखिँदैन । त्यसैले यस्ता घटना पुनः हुन नदिनका लागि राज्यले दीर्घकालीन नीति बनाउनु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ ।
यस्ता संवेदनशील घटनाको अल्पकालीन र दीर्घकालीन समाधानका लागि आयोगले विभिन्न समयमा सिफारिस र ध्यानाकर्षण गराए पनि सरकारको बेवास्ताले गर्दा समस्या बढिरहेको आयोगको ठहर छ ।
आयोगले पीडित परिवारलाई सहयोग गर्न, बिरामीलाई स्वास्थ्य उपचार र शीतलहरबाट बच्न अन्य आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । आर्थिक अभावका कारण उपचार नपाएर सप्तरीमा दुई साताको अवधिमा दलित समुदायका पाँच युवाको मृत्यु भएको थियो । मृत्यु हुने सबै ४० वर्षमुनिका छन् ।