ad
जनकपुर :
राष्ट्रपति विद्यादेवी भण्डारीबाट सरकार गठन आह्वान भएको दोस्रो दिन नेकपा एमालेले औपचारिकरूपमा प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रस्ताव गरेको छ।
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मंगलबार बिहान खुमलटार पुगेर औपचारिकरूपमा यस्तो प्रस्ताव गरेका हुन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्रीका लागि 'बार्गेनिङ' गरिरहेका प्रचण्डले यस विषयमा पार्टीभित्र छलफल चलाउने आश्वासन दिएका छन्।
प्रचण्डले निर्वाचनका समयदेखि नै कार्यकारी भूमिका निर्वाह गर्ने आकांक्षा देखाउँदै आएका छन्।
केही दिनअघि मात्रै उनले बालुवाटारमा देउवासँग प्रधानमन्त्री पदका लागि प्रस्ताव गरेका थिए। 'समाजवादी शक्ति'का रूपमा आफ्नो पक्षमा ६० बढी सिट दाबी गर्दै आएका प्रचण्डलाई एमालेको प्रस्तावले यतिबेला राजनीति वृत्त तरंगित भएको छ।
यो प्रस्तावले गठबन्धनभित्र पनि खैलाबैला मच्चिएको छ। यही गठबन्धनलाई निरन्तरता दिने 'भद्र सहमति' गरेका नेताहरू एमालेको प्रस्तावले सशंकित बनेका छन्।
'प्रचण्डजीले बढी नै सत्तामोह देखाउनुभयो। त्यसले माओवादीलाई ठूलो क्षति पुग्ने निश्चित छ। अहिलेको म्यान्डेड भनेको गठबन्धन सरकारलाई निरन्तरता दिनु हो,' कांग्रेसका एक नेताले भने।
उनले पद बाँडफाँडका लागि गठबन्धनका नेताहरूबीच गहन छलफल हुनुपर्ने बताए।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि माओवादीले गठबन्धन र जनताको मर्मविपरित सत्ताको आकांक्षा राखेको आरोप लगाए।
मंगलबार नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला एवं आबद्ध संघका अध्यक्षको विशेष भेलालाई आज सम्बोधन उनले गठबन्धनले विभिन्न आलोचनालाई चिरेर एउटा परिणाम ल्याएको भन्दै सत्ताको आकांक्षा, आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर जानुपर्ने बताए।
प्रधानमन्त्रीको उत्कट चाहना राखेका प्रचण्डले एमालेसँग सत्ता साझेदारी गर्ने आशंकाले देउवा पनि भयभीत छन्। छैटौंपटक प्रधानमन्त्री बन्ने दाउमा रहेका देउवालाई गठबन्धन जोगाउन हम्मे-हम्मे पर्ने देखिएको छ।
'संसद विघटनपछि संविधानको रक्षार्थ कांग्रेस, माओवादीसहित पाँच दल एकसाथ उभिएका थियौं। अहिले पनि साथमै छौं।
तर प्रधानमन्त्री अब माओवादीले पाउनुपर्छ भन्ने हाम्रो माग हो,' माओवादीका एक नेताले भने। उनले आलोपालो नेतृत्व गर्ने कुरामा पार्टीभित्र दुई मत नभएको बताए। तर पहिले माओवादीले सरकारको नेतृत्व गर्नुपर्ने उनको भनाइ छ।
केही दिनअघि माओवादीले नै सत्ता सहकार्यका लागि एमालेसँग औपचारिक प्रस्ताव गरेको थियो। देउवालाई गलाउने रणनीतिका साथ अगाडि बढेका प्रचण्डले महासचिव देव गुरुङलाई दूतका रूपमा बालकोट पठाएका थिए।
गुरुङले सत्ता सहकार्यका विषयमा एमाले अध्यक्ष ओलीसँग राय मागेका थिए। देशमा स्थिर सरकार निर्माणका लागि 'वाम शक्ति' अपरिहार्य रहेको भन्दै गुरुङले सत्ता सहकार्यका लागि औपचारिक प्रस्ताव गरेका थिए।
सोही प्रस्तावको जवाफसहित मंगलबार नेम्वाङले प्रधानमन्त्रीको प्रस्ताव लिएर खुमलटार पुगेका थिए।
'एमाले-माओवादी' सत्ता सहकार्य गर्दा नेम्वाङले दुई शर्तसमेत अगाडि सारेका थिए। उनले राष्ट्रपति एमालेले पाउनुपर्ने र माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई गठबन्धनमा समावेश नगर्ने शर्त प्रचण्डसँग राखेका थिए।
दुई शर्त माने एमाले अन्य पदको बाँडफाडमा पनि लचकता देखाउने नेम्वाङले प्रस्ताव गरेको खुमलटार स्रोतले जानकारी दियो।
‘एमाले तपाईं(प्रचण्ड)लाई प्रधानमन्त्री मान्न तयार छ। तपाईं प्रधानमन्त्री बन्नुहोस्, एमाले राष्ट्रपतिमा मान्न तयार छ,’ दुई नेताबीचको सम्वादलाई उद्दृत स्रोतले भन्यो, ‘बाँकी पदहरू एमाले-माओवादीका शीर्ष नेता बसेर सहमतिमा बाँडफाड गरौंला।
देशलाई स्थितरतातर्फ लैजान राजनीतिलाई नयाँ कोर्षबाट अगाडि बढाऔं। तर अहिले एसबिनाको गठबन्धन बनाऔं।’