जनकपुरधाम ।
तत्कालिन स्वतन्त्र मधेश गठबन्धनमा डा. सिके राउतसँगै काम गरेका स्वाधिन मधेश जनअभियानका अध्यक्ष कैलाश महतोले विवादस्पद बयानबाजी गरेका छन् ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतलाई राजनीतिक हिजडा भनेका छन् । उनले डा. राउतले करोडौँ रुपैयाँ लिएर स्वतन्त्र मधेश गठबन्धनको मुद्दालाई बेचेको आरोप लगाएका छन् ।
एक अनलाइन मिडियाको अन्तरवार्ताको क्रममा महतोले डा. राउतउपर राजनीतिक हिजडाको आरोप लगाएका छन् । उनले २० करोड रुपैयाँ लिएर स्वतन्त्र मधेश गठबन्धनको मुद्दा बेचेको आरोप लगाएका हुन् ।
नेपला सरकारसँग गरेको ११ बुंदे सहमतिपछि आफूले प्रश्न तेर्साउँदा आफूलाई पार्टीबाट अलग गरेको आरोप लगाउँदै उनले डा. सिके राउतलाई आफूले नै बचाएको दाबी गरेका छन् ।
११ बुंदे सहमतिको क्रममा बुंदा नम्बर २ मा भएको जनअभिमत शब्द उपर छलफलको क्रममा विवाद हुँदा आफू पार्टीबाट हटेको प्रतिक्रिया दिएका छन् । उनले डा. राउतलाई आफू बारम्बार सम्झाउँदा पनि नमानेको बताएका छन् ।
सोही अन्तरवार्ताको क्रममा स्वाधीन मधेश जनअभियानका अध्यक्ष महतोले डा. सिके राउत विदेश गएका युवाहरुसँग चन्दा संकलन गरेर तीन तल्ले भवन बनाएको आरोप लगाएका छन् । युवाहरुलाई गुमराहमा पनि आफ्नो स्वार्थपूर्ति गर्न खोजेको बताएका छन् ।
गत वि.सं. २०७५ साल फागुन २४ गते केपी ओली प्रधानमन्त्री हुँदा नेपाल सरकारसँग ११ बुँदे सहमति गरेका थिए । सो सहमतिपछि अझै मधेशलाई अलग देश बनाउने अभियानको रट लगाएका महतोले डा. राउतलाई आफूले बचाएका दाबी गरेका छन् ।
अन्तरवार्ताको क्रममा उनले भनेका छन् –“सिके राउतलाई त सिरहामै केटाहरुले कुटनेबाला थियो, उनको झुल्फी उखेल्नेबाला थियो, मैले उसलाई बचाएको हो । कैलाश महतोले उनलाई बचाएको हो ।”
वि.सं. २०७७ साल कार्तिक २३ गते डा. राउतको साथ छाडेर कैलाश महतोले नयाँ पार्टी खोलेका थिए । त्यतिबेला डा. राउतको सचिवालयले महतोलाई बिदेशी एजेन्टको सँज्ञा दिँदै पार्टीबाट निष्कासित गरेको थियो ।
जनमत पार्टी गठन भएपछि डा. राउतका ९० नेता कार्यकर्तालाई भारतबाट पक्राउ गराउने जासुसी गरेको भन्दै उनलाई तत्कालै पार्टीबाट निकालिएको थियो । डा. राउतलाई भारतमा बैठक राख्न बारम्बार भनेपछि महतोमाथि शंका लागेको थियो ।
डा. राउतले त्यतिबेला आफू जेल जान तयार रहेपनि भारतमा कुनै पनि हालातमा बैठक नगर्ने अडान लिएपछि विवाद बढेको थियो । डा. राउतले कुनै पनि शर्तमा भारतमा बैठक भने राखेनन् ।
कैलाश महतो, न्यूज ब्यूरो
