जनकपुर ।
रौतहटको कटहरिया नगरपालिकाका चार वडाध्यक्षहरूले बिजुली र पानी फ्रि हुनुपर्ने माग गरेका छन्।
कटहरिया नगरपालिकाले नगरवासीलाई पहिले घरेलु विद्युत् र कृषि विद्युत् फ्रि गरेकोमा वर्तमान नगर प्रमुखको समयमा दिइएको सुविधा कटौती गरिएकाले पुनः सुचारु हुनुपर्ने माग गरेका छन्।
कटहरिया नगरपालिकाको वडा नम्बर २, ३, ४ र ६ का वडाध्यक्षहरूले आइतबार नगर प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै विद्युत्का साथै खानेपानी, मालपोत तथा शौचालयको सफाइ पनि फ्रि हुनुपर्ने माग राखेका छन्।
वडाध्यक्षहरूले दिउँसो छोरीको विवाह गर्नेलाई छोरीको विवाहको लागि नगद २० हजार र दिउँसो छोराको विवाह गर्नेलाई १० हजार रुपैयाँ दिनुपर्ने माग पनि गरेका छन्।
नगर प्रमुखमा सियाराम कुशवाहा हुँदा नगरवासीको हकहितका लागि नगरपालिकाबाट दिइएको सुविधा शीघ्र सुचारु गर्नका लागि माग गरेका हुन्।
यसै गरी वडाध्यक्षहरूले कोरोनाबाट पीडित गरिबको लागि आएको १० हजार रुपौयाँका साथै बाढीपीडित किसानको लागि आएको रकम पनि कृषकको खातामा पठाउन माग गरेका छन्।
नगर प्रमुख, उपप्रमुख तथा कार्यालय प्रमुखलाई सम्बोधन गरिएको ज्ञापन पत्र वडाध्यक्ष चन्दनकुमार कुशवाहाले नगरपालिकामा बुझाएका हुन्। उक्त अवसरमा वडाध्यक्षहरूका साथै केही सदस्यहरूको पनि सहभागिता रहेको थियो।
ad
Ad
Ad