जनकपुरधाम ।
मंसिर ४ मा हुने संसदीय निर्वाचनका लागि मध्यरातिबाट नै नेपाल-भारत नाका ठप्प छ ।
भारतबाट घुसपैठ हुनसक्ने भन्दै मधेशका सिमावर्ती गाउँहरुमा सशस्त्र प्रहरीले सुरक्षा अवस्था कडा पारेको हो ।
ट्राफिक प्रहरी जस्तै सशस्त्रले विशेषगरी हुलाकी सडकको ठाउँ ठाउँमा चेकिङ गरिरहेका छन् ।
शंकास्पद सवारी र व्यक्तिमाथि विशेष निगरानी बढाएको सशस्त्र प्रहरीका एक अधिकारीले बताए ।
उनले भने, ‘बोर्डर सिल छ । तर खुल्ला सिमानाका कारण गोरेटे बाटो भएर पनि मानिसहरु आवत–जावत गर्छन् । त्यसैले सुरक्षा सतर्कता बढाउनुपरेको छ ।’
बोर्डर सिल भएका कारण इमरजेन्सी बाहेक अवस्थामा कसैलाई पनि आवत जावत गर्न दिइएको छैन । नाकाहरुमा ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालित छन् ।
सिरहाको माडर र धनुषाका केही नाकामा भारतबाट मतदान गर्न नेपाल भित्रिन चाहेका नेपालीलाई भारतीय प्रहरीले रोक्ने गरेको बुझिएको छ ।
यसबारे बुझ्न सिरहाका सिडिओ लालबाबु कवारीसँग सम्पर्क गर्न खोज्दा हुन सकेन । धनुषाका सिडिओ सुरेन्द्र पौडेलले त्यस्तो समस्या नदेखिएको दाबी गरे ।
यता, सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता बरिष्ट उपरीक्षक पुरुषोत्तम थापाले बोर्डर सिल रहेको अवस्थामा पनि मतदान गर्न भारतमा रहेका नेपाली आफ्नो परिचयपत्र देखाएर आउन सक्ने बताए ।
धनुषा र सिरहामा नेपालीले मतदान गर्ने उदेश्यले आउन चाहे पनि प्रहरीले रोकेको विषयमा उनले भने, ‘त्यो विषयमा मलाई थाहा भएन । मत खसाल्न नेपाली आउन पाउनुपर्छ । म अहिले नै भनिहाल्छु ।’
यसैक्रममा कपिलवस्तुको कृष्णनगर, चाकरचौडा, मर्जादपुर लगायतका नाकामा आवतजावत गर्ने सवारी साधन रोकिएपनि मतदातालाई भने चेकजाँचका आधारमा आवतजावत गर्न दिइने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धवेन्द्र कुमार मिश्रले जानकारी दिए । निर्वाचन हुनु ७२ घन्टा अघिदेखि स्थीर अवधि सुरु हुने हुँदा प्रचारप्रसार तथा अन्तर्राष्ट्रिय सिमानाका समेत बन्द हुने नियम छ ।