जनकपुर ।
“नमस्कार माई, कि छिय हालचाल !” कसैले नमस्कार गर्दै सोध्यो ।
“ठिकै छिय, कौन छिए तु ?” दुलर चौधरी सरदारले प्रश्न गरिन् ।
“हम उमेदवार छिय, मत मागेके खातिर एते एलिए ।”
सरदारले अचराको सप्कोले अनुहारको पसिना पुछिन् । अनि एकपटक आगन्तुकको मुख नियालिन् ।
“कौन छाप छिय ?,” फेरि अर्को प्रश्न तेस्र्याइन्, “पहेनकर हम्रा एक प्रश्नके उत्तर दे, हम किसान सबकै मल मिल्ते कि नई ?”
उमेदवार मत माग्न घरै आउँदा उनी नजिकैको खेतमा धान काट्दै थिइन् । कसैले स्थानीय थारु भाषामा आउन आग्रह गरेपछि नजिकैको घरको आँगनमा आएकी थिइन् ।
“हम करबे, सरकार से माग करबे । पहेनकर उमेदवार जैसन नई भाग्वे, गामको खातिर काम करबे,” उमेदवारले जवाफ दिए ।
“तिम्सिना बा ! ए तिम्सना बा ! कता हुनुहुन्छ ?”
“को हो हँ ! म यता गोठतिर छु,” हातको तगारीमा गोबर बोकेर उनी गोठबाटै चिच्याए ।
“म तपाईंको क्षेत्रमा प्रदेशसभाको उमेदवार गुरुराज घिमिरे हुँ । मत माग्न आए हैँ ।”
बिहीबार मोरङको क्षेत्र नम्बर ४ ‘क’ ग्रामथान गाउँपालिका वडा नम्बर ५ तेतरिया पुग्दा तिम्सिना बा गोठमा भकारो सोहोर्न व्यस्त थिए । बिहानको ८ बज्न लागेको थियो । लगत्तै खेततिर धान कटाइ गर्न पुग्नुपर्ने हतारो थियो, उनलाई ।
केदार तिम्सिना अर्थात गाउँकै तिम्सिना बाले राम्ररी अनुहार नियाले । फेरि भने, “बाबुको घर त यहीँ नेता चोक होइन र ?”
“हो हो, म यतैको मान्छे हो । कहिले गाउँमा, कहिले विराटनगर अनि कहिलेकाँहि काठमाडौंतिर पनि बस्छु,” घिमिरेले जवाफ दिए । तिम्सिना बाले ‘सकेको सहयोग गर्ने’ आश्वासन दिएपछि टोलका अरु घरतिर मत माग्न घिमिरे अघि बढे ।
“मध्य कात्तिक छ । किसान घरमा भन्दा खेतमै भेटिन्छन् । फेरि मेरो क्षेत्र धेरै त ग्रामीण भेग समेटिएको छ, त्यसैले जो जहाँ भेटिन्छन् त्यहीँ पुग्ने गरेको छु,” घिमिरेले बाह्रखरीसँग भने ।
बिहीबार अपराह्न सुनसरीको गढी गाउँपालिका पुग्दा धुलो उडाउँदै हुइँकिएका एक लहर गाडी मधेली चौकमा घ्याच्च रोकिए । गलामा माला लगाएका नेपाली कांग्रेसका नेता विजय गच्छदार ढोका खोल्दै ओर्लिए । बाटो पश्चिमको एउटा घरमा ढलाइ हुँदै थियो । त्यतैतिर लागे ।
सिमेन्ट, बालुवा, गिटी ओसारेर गलेका श्रमिक आँगनमा थकाइ मार्दै थिए । गच्छदार श्रमिक नजिकै पुगे । “नमस्कार ! हम एलिए भोट दिए पर्ताे,” उनले मत मागे ।
श्रमिकमध्येकै एक महिलाले जिज्ञासा राखिन्, “उ सालो देलिए त कि हेले ?”
गच्छदारले भने, “गामके विकास खातिर काम करलिए ! डगर, पुल, स्कुल, स्वास्थ्य अफिस सब त तयार हेले ।” त्यसपछि अभिवादन गर्दै उनी गढीको नयाँ टोलतिर हान्निए ।
“गाउँका मतदाता दिउँसो काममा व्यस्त हुन्छन् । त्यही भएर उनीहरु भएकै ठाउँमा गएर मत माग्ने गरेको छु,” गच्छदारले बाह्रखरीसँग भने ।
मोरङको निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का उमेदवार विनोद ढकाल पनि मतदाता जता छन्, त्यतै गएर भोट मागिरहेका छन् । ग्रामथान गाउँपालिकाका वडाहरुमा उनले सक्रियता बढाएका छन् । ढकाल भन्छन्, “अहिले धान काट्ने र थन्क्याउने बेला भएकोले मतदाता भएकै ठाउँमा गएर मत माग्नुपर्छ ।”
सत्ता गठबन्धनका उमेदवार नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी पनि हाट, बजार, खेत सबैतिर धाइरहेका छन् । मोदी भन्छन्, “गाउँमा किसान काममै व्यस्त हुने भएकोले उनीहरु भएतिरै गएर मत माग्नुको विकल्प छैन ।”
निर्वाचन क्षेत्र धेरै ठूलो भएकोले धेरै घरदैलो कार्यक्रम गर्न आफूहरुलाई कठिन भइरहेको मोदीले सुनाए । सहरका वडाहरुमा सामाजिक सञ्जालमार्फत र सन्देशमार्फत पनि मत माग्न सहज भए पनि गाउँमा त्यो लागु नहुने मोदीले बताए ।
गढी गाउँपालिका नयाँटोलकी तारादेवी चौधरीले उमेदवार खेत खलियानमै आएर मत मागिरहेको बताइन् । “उमेदवार खेत खलियानमै आएर भोट त मागिरहेका छन्, खुसी पनि लाग्छ । तर, जितेर गएपछि वाचा बिर्सने हुन् कि भन्ने पनि पीर लाग्छ ।”