जनकपुर ।
विराट कोहली र हार्दिक पन्ड्याले पाँचौँ विकेटका लागि ११३ रनको साझेदारी गरेपछि भारतले आइतबार आईसीसी ट्वान्टी २० विश्वकपमा चिरपरिचत प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध ४ विकेटको रोमाञ्चक जित निकालेको छ ।
पाकिस्तानले प्रस्तुत गरेको १६० रनको लक्ष्य भारतले निर्धारित २० ओभरमा ६ विकेटले पूरा गर्याे ।
अन्तिम ओभरमा भारतलाई जितका लागि १६ रन आवश्यक थियो । कप्तान बाबर आजमले मोहम्मद नवाजलाई बलिङको जिम्मेवारी दिएका थिए ।
नवाजले पहिलो बलमै ४० रन बनाएका हार्दिक पन्ड्यालाई कप्तान बाबरमार्फत क्याच गराएका थिए । दोस्रो बलमा एक रन दिएका नवाजले तेस्रो बलमा दुई रन दिए ।
भारतलाई जितका लागि तीन बलमा १३ रन आवश्यक थियो । चौथो बलमा नवाजको ‘नो बल’ मा कोहलीले छक्का प्रहार गरे । यही नै पाकिस्तानलाई महँगो साबित भयो ।
लगत्तै बलमा नवाजले वाइड फालेपछि भारतको दबाब झनै कम भएको थियो । चौथो बलमा कोहलीले तीन रन लिए ।
पाँचौँ बलमा कार्तिकलाई विकेटकिपर मोहम्मद रिजवानमार्फत स्टम्फआउट गरे पनि अन्तिम बल वाइड फालेपछि भारतलाई जितका लागि एक रनमात्र आवश्यक पर्याे । अन्तिम बलमा आश्विनले एक रन लिँदै भारतको जित सुनिश्चित गरे ।
त्यसअघि ६.१ ओभरमा ३१ रन जोड्दा भारतले चार विकेट गुमाइसकेको थियो । त्यस अवस्थामा कोहली र पन्ड्याले ११३ रनको साझेदारी गर्दै भारतलाई जितउन्मुख गराएका थिए । विराट कोहलीले अविजित ८२ रन बनाउँदा पन्ड्या ४० रन जोडे । १९.१ ओभरमा पन्ड्या आउट हुँदा भारत १४४–५ को अवस्थामा थियो । त्यसपछि कोहली र रविचन्द्रन आश्विनले भारतको इनिङ्स टुङ्ग्याएका थिए ।
कोहलीले ५३ बलमा ६ चौका र चार छक्का प्रहार गर्दै ८२ रन बनाए ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाजले समान दुई विकेट लिए । नसिम साहले एक विकेट लिए ।
यसअघि मेलबर्न क्रिकेट रंगशालामा टस हारेपछि ब्याटिङमा निम्त्याइएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५९ रनको योगफल खडा गरेको थियो ।
दोस्रो ओभरको पहिलो बलमै कप्तान बाबर आजम ‘गोल्डेन डक’ हुँदा अर्का ओपनर मोहम्मद रिजवान चार रन बनाएर पभेलियन फर्किए । चौथो ओभरको अन्तिम बलमा रिजवान आउट हुँदा पाकिस्तान १५–२ को अवस्थामा थियो । त्यसपछि दबाबमा आएको पाकिस्तानको इनिङ्स इफ्तिखर अहमेद र सान मसुदले सम्हालेका थिए ।
इफ्तिखरले ३४ बलमा दुई चौका र चार छक्कासहित ५१ रन बनाएका थिए । सान मसुद ५२ रनमा अविजित रहे । दुईले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए ।
नवौँ नम्बरमा ब्याटिङका लागि मैदान आएका साहिन साह अफ्रिदीले आठ बलमा एक चौका र एक छक्कासहित १६ रन बनाए ।
यसबाहेक पाकिस्तानका कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङमा भारतबाट ट्वान्टी–२० विश्वकपमा ‘डेब्यु’ गरेका अर्सदीप सिंहले तीन विकेट लिए । उनले आफ्नो इनिङको पहिलो बलमै बाबरलाई पभेलियको दिशा देखाएका थिए । चार ओभर बलिङ गरेका अर्सदीपले ३२ रन खर्चिदा पाकिस्तानका कप्तान बाबर आजम, मोहम्मद रिजवान र आसिफ अलिको विकेट लिएका थिए ।
यस्तै, हार्दिक पन्ड्याले पनि तीन विकेट लिँदा मोहम्मद सामीले दुई विकेट हात पारे ।