जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिकामा जग्गाको कित्ता काट रोकिएका कारणले आम जनता निक्कै मारमा परेका छन् ।
जग्गाको कित्ता काट रोकिएका कारणले कतिपय व्यक्तिहरूमा समस्या भएकाले शीघ्र रुपमा गर्नका लागि उपमहानगरपालिकाले कन्सल्टेन्ट नै नियुक्त गरेर जग्गाको वर्गीकरण गर्ने काम भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।
१५ दिनभित्रमा जग्गाको कित्ताकाट खोल्ने गरि तयारी भएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जानकारी दिनु भएको छ ।
अहिले जग्गाको वर्गीकरण गर्नका लागि स्थलगत रुपमा अनुगमन गरेर जग्गाको किसिम छुट्याउने काम भइरहेको जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ ।
जग्गाको कित्ता काट रोकिएका कारणले कतिपय व्यक्तिलाई जग्गा बिक्री गरेर छोरा छोरीलाई पढाउन, उपचार तथा अन्य समस्या समाधान गर्नमा समस्या भएको बताउँदै स्थानीयवासीले शीघ्र रुपमा रोकिएको जग्गाको कित्ता काट गर्ने काम खुलाउनका लागि आग्रह गर्नु भयो ।
जग्गाको वर्गीकरण गरेर भदौ महिना भित्रमा प्रतिवेदन दिनका लागि उपमहानगरपालिकाले सबै वडाका अध्यक्ष एवं सचिवहरूसँग बैठक गरेर आग्रह गर्दा पनि १० वटा वडाले मात्र प्रतिवेदन दिएपछि ढिलाइ भएको छ ।
अहिले जग्गाको वर्गीकरणमा सजिलो होस् भन्नका लागि नापीका विज्ञ विजय कुमार महतोलाई प्रमुख कन्सल्टेन्टको रुपमा नियुक्त गरेर वडा वडामा परिचालन गरेको नगरप्रमुख साहले जानकारी दिनु भयो ।
जनकपुरधाम उपमहानगरपालिकामा रहेका २५ वडा मध्ये १० वटाको जग्गा वर्गीकरण सम्बन्धी विवरण प्राप्त भएपनि अन्य १५ वटाको बाँकी रहेकोले जग्गाको कित्ता काट गर्ने काम खोल्न नसकेको उपमहानगरपालिकाले जनाएको छ ।
कुन जग्गा कस्तो प्रकृतिको हो त्यसको सम्पूर्ण विवरण प्राप्त भएपछि जनकपुरधामको कार्यपालिकाबाट कित्ताकाट शुरु गर्ने जनाउँदै नगरप्रमुख साहले जग्गाको वर्गीकरण तथा कित्ता काट गर्ने सम्पूर्ण अधिकार स्थानीय सरकारको रुपमा रहेको पालिकाहरूलाई दिइएपछि कतिपय पालिकामा कित्ता काट गर्ने काम रोकिएको छ ।
ad