जनकपुर ।
सञ्चार उद्यमी अरुण सिंघानिया हत्या मुद्दाको सुनुवाइ प्रक्रिया अगाडि बढाइएको छ ।
बुधबारदेखि उच्च अदालत जनकपुरमा बहस सुरु भएको छ । उच्च अदालतको ३ नम्बर इजलासमा न्यायाधीशद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र डाल कुमार खड्काको संयुक्त इजलासमा मुद्दाको पेशी राखिएको छ ।
बहसका क्रममा बुधवार नेपाल सरकारको तर्फबाट उच्च सरकारी वकील कार्यालयका सह न्यायाधिवक्ता यदुनाथ शर्माले मुद्दाको विषय वस्तु उठान गरेका थिए । त्यसपछि प्रतिवादी संजय साहका अधिवक्ता प्रकाश घिमिरे बहस सुरु गरेका थिए ।
तर समय अभावका कारण बुधबार मुद्दा र्हेदा र्हेदैमा राखिएको उच्च अदालत जनकपुरका सूचना अधिकारी नुतन झाले जानकारी दिइन् । उनका अनुसार मुद्दाको सुनुवाइ विहीबार पनि राखिएको छ ।
मुद्दाको किनारा नलागे सम्म सुनुवाइ भइराख्ने प्रतिवादीका अधिवक्ता प्रदीप मिश्रले जानकारी दिए । उनका अनुसार विहीबार पनि ३ नम्बर इजलासमा पेशी राखिएको छ ।
यस अघि यही भदौ १५ गते तोकिएको पेशी लगाउको कारणबाट स्थगित भएको थियो । सिंघानियाको ०६६ साल फागुन १७ गते होलीका दिन हत्या गरिएको थियो ।
हत्या भएको दश वर्षपछि मुद्दाको सुनुवाइ प्रक्रिया अगाडि बढाइएको थियो । ०७६ असार १७ गते जिल्ला अदालत जनकपुरले आरोपी संजय साहसहितलाई जन्मकैद फैसला सुनाएको थियो । साहले सोही फैसलामा असंतुष्टि जनाउँदै ०७६ असोज ७ गते उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए ।
साह अहिले नख्खु कारागारमा काठमाण्डुमा कैद भुक्तानी गरिरहेका छन् । साह ०६४ सालको संविधानसभामा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल र दोस्रो संविधानसभाको निर्वाचनमा सद् भावना पार्टीबाट प्रत्यक्ष चुनाव जितेका थिए ।
पहिलो पटक चुनाव जितेपछि उनी भौतिक पूर्वाधार विकास राज्यमन्त्री समेत भएका थिए । धनुषा निर्वाचन क्षेत्र ३ बाट लगातार दुईपटक प्रत्यक्ष चुनाव जित्ने उनी पहिलो सांसद थिए ।
दोस्रो पटक चुनाव जितेको केही दिनमै उनी विरुद्ध संचार उद्यमी सिंघानियाको हत्याकाण्डको र जनकपुरधामको रामानन्द चोकमा भएको बम का ण्डको मुख्य योजनाकार बनाइएको थियो ।
साहलाई प्रतिवादी बनाइएपछि उनी सांसद पदमा बहाल रहेकै बेला भारतको दिल्ली फरार भएका थिए ।
