जनकपुर :
मिटरब्याजीविरुद्ध आन्दोलनमा उत्रिएका ४५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मिटरब्याजीविरुद्धको मजदुर किसान संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्तासहित कम्तिमा ४५ जना पीडितलाई कीर्तिपुरबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई कीर्तिपुर प्रहरीवृत्तमा राखिएको छ । आन्दोलनका क्रममा प्रहरीले पीडितलाई लाठी चार्ज, बुट प्रहार समेत गरेको थियो ।
चन्द्रागिरी- १५ तिनथानास्थित टहरामा बस्दै आएका मिटरब्याजी पीडितहरुको आन्दोलन रोक्न प्रहरीले सो स्थानमा घेरा हालेको थियो ।
आन्दोलनकारीहरु कीर्तिपुर बजारबाट नाराजुलुश गर्दै पैदल माइतीघर मण्डलातर्फ आउँदै थिए । सो क्रममा उनीहरुलाई नयाँबजार गेट नजिकैबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीको लाठीचार्जबाट एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् । आन्दोलनमा उत्रिएका दिवेश गौतमको टाउको फुटेको छ । उनको टाउकोमा तीनवटा टाँका लागेको छ ।
मिटरब्याजीले दृष्टिबन्ध गरेको सबै जग्गा फुकुवा हुनुपर्ने, झुक्याएर पास गराएको जग्गा पीडितको नाममा फर्काउनु पर्ने, जाली तमसुक सबै च्यात्नु पर्ने, हिसाबभन्दा बढी लिएको पैसा फिर्ता गर्नुपर्ने र मिटरब्याजी पक्रेर जेल हाल्नु पर्ने पीडितको माग छ । संघर्ष समिति अध्यक्ष गुप्ताले माग पूरा नभएसम्म घर नफर्किने बताए ।
मिटरब्याजीको पीडा खप्नै नसकेर देशैभरीका पीडितहरु न्याय माग्न ४० दिनदेखि काठमाडौंको माइतीघरमा धर्ना बसिरहेका छन् ।
ad
Ad
Ad