जनकपुर —
आफ्नी प्रेमिकालाई जंगलमा लगेर हत्या गर्ने अभियुक्तलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
हत्याको झन्डै २ वर्षपछि अभियुक्त कपिलवस्तुको शिवराज नगरपालिका –७ का ३६ वर्षीय काशिराम मुराउलाई पक्राउ गरी ज्यान सन्बन्धी कसुर मुद्दामा अनुसन्धान थालिएको हो ।
इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार भदौ १६ मा पक्राउ परेका उनलाई प्रारम्भिक अनुसन्धानपछि ७ दिनको म्याद लिएर थप अनुसन्धानमा राखिएको छ ।
मुराउले अवैध गर्भ रहेपछि ७ महिनाको गर्भसहित ३४ वर्षीय वसन्ती भन्ने धनकुमारी अर्यालको हत्या गरेका थिए । उनी गुल्मीको साबिक अर्खवाङ गाविस–२ घरभई रुपन्देही तिलोत्तमा नगरपालिका३ मा बस्दै आएकी थिइन् ।
प्रहरीले २०७७ माघ १० गते सैनामैना नगरपालिका ११ शितलापुर फायर लाइनमा महिलाको शव फेला पारेको थियो । झन्डै २ वर्षपछि महिलाको सनाखत भएपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो ।
अभियुक्तले विगत ४ वर्षदेखि प्रेम सन्बन्ध रहेको र दुवैतिर सन्तान परिवार भएकाले जंगलमा लगेर घाँटी थिची हत्या गरी रुखमा बाँधेर फरार रहेको स्विकारेको इलाका प्रहरी कार्यालय सालझण्डीमा कार्यालय प्रमुखको रुपमा प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।
उनीहरुबीच प्रेमपछि लोडर ड्राईभर काशिरामले बसन्तीलाई वैशख २०७७ कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित बुड्डी भन्ने स्थानमा कोठा भाडामा लिएर राखेका थिए । तर, उनी गर्भवती भएको थाह पाएपछि भने बारम्बार गर्भ फाल्न दबाब दिएका थिए ।
०७७ को पुस महिनाको अन्तिम हप्तामा बुटवल आफन्तकहाँ गएकी वसन्तीलाई काशिराम आफैं बुटबल फूलबारीसम्म लिन गई सालझण्डीसम्म बसमा आएका थिए ।
सालझण्डीमा लोकल रक्सी र दालमोट किनी आफूलाई सालझण्डी बजारमा मानिसहरुले चिन्ने हुनाले नजिकैको जंगलमा जाउ उतै रक्सी खाएर रमाइलो गरौला भनी दिउँसोको करिब ३ बजेतिर फायरलाइन जंगलमा गई रक्सी सेवन गराई हत्या गरेको प्रहरी अनुसन्धानमा भेटिएको छ ।