काठमाडौं महानगरको मतगणना चलिरहँदा महोत्तरीको एकडारा गाउँपालिकाबासीमा खुशीको माहोल छ। अन्तिम नतिजा नआउँदै गाउँले गदगद छन्। अन्तिम नजिता घोषणा भएलगत्तै गाउँमा दीपावलीसँगै मिठाइ बाँडेर खुसीयाली मनाउने उनीहरुको तयारी छ।
यतिबेला एकडारा गाउँवासीको दृष्टि काठमाडौंको मतगणनाको परिणाममा अडिएको छ। बेलाबेला गाउँवासीहरु रेडियो सुन्छन्, टिभी हेर्छन्, अनलाइन र समाजिक सञ्जालको भित्तामा मतगणना परिणाम चाहार्छन्।
यसको एउटै कारण हो कहिल्यै नसोचेको नतिजा एकडारा गाउँबासीले मात्र होइन, देशले पाउँदैछ। देशकै राजधानीमा यहीँका एक युवक इतिहास रच्दैछन्।
स्वतन्त्रबाट काठमाडौंको मेयरमा जित नजिक पुगेका बालेन शाह (बालेन) यही गाउँका छोरा/नाति हुन्। उनको ऐतिहासिक जितमा गाउँले खुसी नहुने कुरै भएन।
बालेनका काका (बाजेका भाइका छोरा) सन्तोष साहले भतिजकाे जितको खुसीमा गाउँमा मिठाइ बाँड्ने र दीपावली मनाउने तयारी गरेको बताए।
साहले जनकपुरस्थित विश्वकर्मा चोकमा कुन्दन मेडिकल चलाइरहेका छन्। भतिज बालेनले यसरी राजनीतिमा चमत्कार गर्छन् भन्ने उनले कहिल्यै सोचेकै थिएनन्।
काठमाडौं महानगरमा उम्मेदवारी दिएर बालेन आफ्नो खानदानकाे चिराग बनेकाे र सर्वाधिक चर्चा पाएकाे भन्दै सन्तोष निकै खुसी देखिएका छन्।
‘बालेन पहिलादेखि नै समाजसेवा, र्याप गीतमा सक्रिय छन्। तर, यसरी राजनीतिमा उनको उदय हुन्छ भन्ने मैले कल्पना नै गरेको थिइनँ’ सन्तोषले भने ‘अब काठमाडौंको मेयर बन्ने निश्चित नै छ। हामी गौरवान्वित छौं। जसरी पार्टीभन्दा माथि उठेर जनताले विश्वास गरी बालेनलाई मत दिएका छन्। त्यसरी नै उसले समाज र राष्ट्रका लागि उदाहरणीय र ऐतिहासिक काम गरोस् भन्ने मेरो शुभकामना छ।’