गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी सहयोग नियोग (एमसीसी)को सहयोगमा निर्माण हुने विद्युत् ‘सप्लाइ’ हुने ट्रान्समिसन र हाइटेन्सन तारबाट विद्युत आउने बताएका छन्।
गृहमन्त्री खाणले केहीले एमसीसीबाट निर्माण हुने ट्रान्समिसन र हाइटेन्सन लाइनबाट सेना आउने हल्ला फैलाएको भन्दै त्यो लाइनबाट सेना नआई विद्युतमात्रै आउने बताए।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा मंगलबार काठमाडौंमा काठमाडौं महानगर पालिका र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाणले भने, ‘एमसीसीको सहयोगमा निर्माण हुने बिजुलीको तारबाट विद्युत आउँछ, अमेरिकी सेना आउँदैन।’
गृहमन्त्री खाणले एमसीसी अमेरिकाले गरिबी निवारण, रोजगार र भौतिक निर्माणका लागि नेपालजस्ता मुलुकलाई दिने अनुदान भएको स्पष्ट पारे। ‘नेपालजस्ता आवधिक निर्वाचन भइरहेका, मानव अधिकारको पालना गर्ने र प्रेस स्वतन्त्रता भएका मुलुकलाई अमेरिकाले दिने अनुदान हो एमसीसी,’ गृहमन्त्री खाणले भने, ‘एमसीसीको त्यो क्राइटएरिया पूरा गरेर हामीले एमसीसी अनुदानमा पाएका हौं। यसबारेमा भएका अन्य सबै हल्ला निराधार हुन्।’
नेपालमा धेरै खोलानाला भएको र ती खोला नालाबाट उत्पादित विद्युतलाई नागरिकका घर घरसम्म पुर्याउने ट्रान्समिसन र हाइटेन्सन लाइन निर्माण गर्नका लागि एमसीसी अनुदान प्रक्रिया पुर्याएर ल्याइएको गृहमन्त्री खाणले स्पष्ट पारे।
नेपालमा एमसीसीबारे व्याख्यात्मक घोषणा नहुँदासम्म पारित गर्न र आफू सरकारमा रहेका बेलामा हस्ताक्षर गरेकाहरूले पनि अहिले विरोध गरेको उनले बताए। नेपाल सरकारले विभिन्न मुलुकले दिने ऋण स्वीकार गरेको भन्दै अनुदान लिएर कुनै गल्ती नगरेको उनको भनाइ थियो।
सरकारले गल्ती गरेको भए सुधार्न तयार रहेको भन्दै गृहमन्त्री खाणले राम्रो निर्णय गर्दा राम्रो गरेको छ भन्न सक्नुपर्ने बताए। उनले एमसीसी परियोजनामार्फत बन्ने ट्रान्समिसन र हाइटेन्सन लाइनबाट सबैको घरघरमा पुग्दा उपभोक्ताले चाहना अनुरुप विद्युत खपत गर्न पाउने बताए। एससीसी पास गरेर सरकारले उपभोक्ताको हित हेरेको भन्दै गृहमन्त्री खाणले नेपालका नदी नालाबाट उत्पादित विद्युत् सबैका घर घरमा पुर्याउनु जनहितको काम भएको बताए।