जनकपुर ।
‘प्रहरी मिलेपछि जे पनि वारपार गर्न सम्भव छ’ मधेस प्रदेशको सिरहाका सीमावर्ती क्षेत्र नरगीमा भेटिएका रामनारायण ठाकुरको भनाइ हो यो। अचेल सीमावर्ती क्षेत्रका यो भनाइ चल्तीमा छ। कारण हो प्रहरीको उपस्थिति रहेको सीमानाकाबाट तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार गर्नु।
सुरक्षाकर्मीको उपस्थिति रहेकै सीमानाकाबाट तस्करको राज चलेको मधेस प्रदेशको नामी जिल्ला हो, सिरहा। सिरहाको नगरी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, माडर, बरियारपट्टी, औरही, पटेर्वा नाका अहिले तस्करलाई जिम्मा लगाइदिए जतिकै अनुभूति गर्छन्, स्थानीयबासी। यी नाकाबाट चिनी, कपडा, मोटरपार्टस्, किसान सामान, ग्यास चुल्हो, लाइटर, पान मसाला, सुर्तीजन्य पदार्थ(रजनीगन्धा, गुटखा) भन्सार राजश्व छली गरी भित्रिन्छ। वारिबाट मदिरा, चाइनिज स्याउ, सुपारी पारि पुर्याइन्छ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारसँगको त्रिपक्षीय सेटिङमा (लाइन मिलाएर) यहाँ तस्कर राज चलेको सीमावर्ती क्षेत्रका स्थानीय बताउँछन्।
झाझपट्टीको सिमा प्रवेशद्वार नजीक रुखमुनी सुस्ताउँदै गरेका स्थानीयले भने,‘ यस नाकाबाट रातभर पारिबाट सामान ल्याएर मोटरसाइकल र टेम्पोमार्फत सहरतर्फ ढुवानी हुन्छ। सुरक्षाकर्मीबाट ‘लाइन क्लियर’ रहेको संकेत पाएपछि अन्धाधुन्द सामान ढुवानी सुरु हुन्छ। सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि खटिएका हुन्छन्। सडक छेउमै घर हुने उनले भने,‘हामीसँग आँखा, कान र मुख थुनेर बस्नुको विकल्प छैन्। राज्यको निकायले नै तस्करलाई लाइन खोलिदिएपछि निहत्था हामीमा कसरी मुख खोल्ने आट पलाउँछ ? उनले भने।’
नरगी र कुसण्डीकोबीचमा भेटिएका रामनारायण ठाकुरले यस भेगको तस्करी धन्दाबारे बेलिविस्तार लगाए। उनको सीधा बुझाइ छ सीमादेखि सहरसम्मका प्रहरी तस्करसँग नमिल्ने हो भने भन्सार राजश्व छलेर सामान वारपार गर्ने आट पुग्दैन्।
उनले भने,‘प्रहरीका ‘घुमुवा’ले नै तस्करका बाटो पहिल्याइदिने गरेको पाइन्छ। सीमाक्षेत्रमा तस्कर र प्रहरीसँगै बसेर खानपिन गर्छन्। तस्करसँग हिमचिम र जनतासँग रुखो प्रहरीको व्यवहारले सीमाक्षेत्रका बासिन्दा आजित छन्। रातभर मोटरसाइकल र टेम्पोमा सामान वारपार भैरहेको जनताको आँखाले देख्ने तर प्रहरीले नदेख्ने कस्तो खेला हो ! यहाँका कुसन्डी, नरगी र कचनारी नाकाबाट व्यापक मालसामान ओसारपोसार भैरहेको छ।'
‘भित्र बोरा र पोकामा के भरिएको हुन्छ त्यो त हामीलाई थाहा हुने कुरा भएन’ उनले भने,‘तस्करका बोरा र पोका प्रहरीले हेर्दा पनि हेर्दैनन्।’ यस नाकाबाट भित्रिने मालसामान सीधैं लहान स्थित तस्करको गोदाममा पुग्छ।
सिरहा, पटेर्वा, कल्याणपुर र चतरी सीमानाका भएर भित्रिने मालसामान मिर्चैया, सिरहा र गोलबजार स्थित तस्करको गोदाममा पुग्छ। बरियारपट्टी नाका भएर भित्रिने मालसामान गोलबजार स्थित तस्करको गोदाममा पुग्छ। भारतबाट भन्सार राजश्व छली गरी ल्याइएका सामान भण्डारण गरिने लहान, सिरहा, मिर्चैया र गोलबजारका गोदामबारे स्थानीयबासी जानकार छन्। तर, प्रहरी बेखबरजस्तै चुपचाप छन्।
तस्करलाई लाईनमा ल्याउन भन्सारका कर्मचारी र राजमार्गतिरका प्रहरीले कहिलेकाहीँ केहि सामान समात्ने गरेको पाइन्छ। लाईन मिलेपछि सबै नदेखे झै गरेर चुप बस्ने गरेको सीमाक्षेत्रबासी बताउँछन्। कुसण्डी नाकाबाट सुर्ती, चिर्नी, लत्ताकपडाले भरिएको टेम्पो र मोटरसाइकल प्रत्येक राती लहानको गोदाम पुग्छन्। लहानको गोदामबाट चाइना एप्पल र मदिराले भरिएको टेम्पो कुसण्डी र झाझपट्टी नाका हुँदै पारि पुग्छ।
जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकीका सादा पोशाकका प्रहरी(घुमुवा) सीमाक्षेत्र र सहरमा अखाडा बनाएर तस्करको लाइन मिलाउँछन्। सीमाबाट सहरका गोदामसम्म तस्करलाई सघाउने काम यीनै घुमुवाहरुले गर्छन्। जिल्ला प्रहरी कार्यालय सिरहामा सादा पोशाकमा खटिएका घुमुवा तस्करसँग लेनदेनका विषयमा बारम्बार विवादित भैरहँदा पनि उही जिम्मेवारमा छन्। वर्षौदेखि घुमुवाको जिम्मेवारीमा रहँदा तस्करजती सबैसँग उनको घनिष्टता र हिमचिम रहेको सीमाक्षेत्रबासी बताउँछन्।
तस्करसम्म पुग्दैनन्
गते पुस १२ गते भन्सार कार्यालय ठाढीका कर्मचारीले पारिबाट वारि आइरहेको चिनीले भरिएको भारतीय पिकअप जिपलाई सीमावर्ती कुसन्डीबाट नियन्त्रणमा लियो। चिनीको बाेराले भरिएको बिआर ३२ जिबी १९१५ नम्बरको पिकअप जिप नियन्त्रणमा लिएपनि चालकलाई भन्सार कार्यालय तत्काल ८ लाख २५ हजार धरौटीमा छोड्यो। सीमा नाकाबाटै चिनीले भरिएको भारतीय नम्बरको जीप भित्रिदा पनि सशस्त्र प्रहरीले सुइँको पाएनन्। सामान सामातेको ठाढी भन्सारका प्रमुख धु्रवप्रसाद कोइरी सामानको स्रोत अर्थात तस्कर(साहु)सम्म पुग्नु भन्दा चालकलाई हतारहतार धरौटीमा छोड्नेतिर लागे, छाडे। त्यसपछि यस नाकाक्षेत्रबाट यती ठूलो परिमाणमा कहिल्यै सामान समातिएन।
गत फागुनमा लहान प्रहरीले लहान नगरपालिका –२ कटहा चोकबाट तस्करीका समानसहित ना ५ ख ६३४८ नम्बरको मिनी ट्रक पक्राउ गरी भन्सार कार्यालय ठाढीमा बुझायो। सिरहाको नवराजपुर गाउँपालिका– १ का ट्रक चालक ३९ वर्षीय राम कुमार चौधरीलाई भन्सार कार्यालयले हतारहतार धरौटीमा छाड्यो। तर तस्करसम्म पुग्न न प्रहरी सक्यो न भन्सारले हिम्मत गर्न सक्यो।
भारतबाट कुसण्डी नाकाबाट ट्रकमा कस्मेटिकसहित प्रवेश गरेको ट्रकमा ३ लाख १५ हजार २४० रुपैयाँ बराबरको कस्मेटिक्स सामान थियो। यो गाडि लहानस्थित तस्करको गोदामतर्फ आउँदै थियो। झाझपट्टी, कुसण्डी र नरगी नाकाबाट तस्करीका सामान बोकेको जीप र ट्रक र टेम्पो छिर्दा समेत सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट, नवराजपुर झाझपट्टी र इलाका प्रहरी कार्यालय झाझपट्टीका प्रहरी अधिकारी चाल पाउँदैनन्।
प्रहरी बेखबर,स्थानीय खबरदार
इलाका प्रहरी कार्यालय लहान, नगर प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय गोलबजार, इलाका प्रहरी कार्यालय मिर्चैया नजीकै रहेको तस्करको गोदामबारे छेउछाउका स्थानीय प्रायः खबरदार छन्। तर प्रदेश प्रहरी कार्यालय, प्रदेश सशस्त्र प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालयका दर्जन बढी सादा पोशाकका प्रहरी(घुमुवा) को यो क्षेत्र अखडा भएपनि उनीहरु चुपचाप छन्। स्थानीयका अनुसार सीमाबाट यी सहरका गोदामसम्म तस्करलाई सघाउने काम यीनै घुमुवाहरुले गर्छन्।
सुरक्षाकर्मीसँग सेटिङ मिलाएर तस्करी गर्ने व्यापारीले सुरक्षाकर्मीका घुमुवा (सादा पोशाकका प्रहरी) ले देखाएको बाटोबाट बिनाभन्सार राजश्व तिरि सामान प्रहरी र सशस्त्र प्रहरीलाई लाइन मिलाएर(मासिक रकम दिएर) ल्याइरहेका छन्। तस्करहरुले यहाँ यी सहरमा घर भाडामा लिएर भन्सार छलीका सामान भण्डारण गर्दै आएका छन्। उक्त सामान नजिकको व्यपारिक सहरहरू उदयपुरको गाइघाट, कटारी लगायतमा सप्लाई गर्दै आएका छन्।
जहाँ प्रहरी त्यहीँ तस्करी
झाझपट्टी, ठाढी, बरियारपट्टी, नरगी, कुसन्डी, माडर यी नाका पछिल्लो समय तस्करी बढी हुने नाका हुन। यी सबै नाकामा सशस्त्र र प्रहरीको उपस्थिति छ। चोरी पैठारी नियन्त्रणमा सहयोगका लागि सीमा नाकामा इन्सपेक्टरको कमान्डमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट छ। सइको कमाण्डमा नेपाली प्रहरीको प्रहरी चौकी छ। सीमादेखि सहरसम्म दर्जन बढी सुरक्षा पोष्ट छन्। ‘सुरक्षाकर्मीसँग सेटिङ नमिलाएको भए यतिका सुरक्षा संयन्त्रलाई छलेर कसरी तस्करले पारिबाट सहरसम्म सामान ल्याउँछन् ?
सिरहाका एसपी अर्जुन तिमिल्सिना भने तस्करी नभएको दाबी गर्छन । तरपनि उनले नागरिकन्यूजसँग भने, ‘तस्करी भएकै छैन त भन्दिन तर हामीसँग वा कुनै प्रहरी अधिकारीसँग लाइन मिलाएर चाहीँ भएको छैन्।’