जनकपुर : सर्लाही जिल्लामा एक मुस्लिम व्यक्तिलाई सुंगुरको खोरमा थुनेर कुटपिट गरिएको अमानवीय घटनाले सर्वत्र चासो र आक्रोश उत्पन्न गराएको छ।
पर्सा गाउँपालिका–५ निवासी तश्लिम अंसारीलाई सुनचाँदी व्यवसायसँग जोडिएको सामान्य विवादका कारण शनिबार बिहान सुंगुरको खोरमा थुनेर कुटपिट गरिएको हो। अंसारीकी छोरीको विवाहका लागि सुनका गहना बनाउने क्रममा स्थानीय सुनचाँदी व्यवसायी राजेन्द्र साह सोनारसँग वादविवाद भएको थियो।
पीडितका छोरा कौशर अंसारीका अनुसार, विवाद पछि राजेन्द्र साहले केही स्थानीय व्यक्तिहरूलाई साथमा लिएर तश्लिमलाई सुंगुरको खोरमा थुनेर निर्घात कुटपिट गरेका थिए।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजेन्द्र साह सोनार, उनका छोरा कमलेश साह सोनार, राहुल कुमार महतो, पप्पु कुमार यादव, तश्लिमका दाइ मोहम्मद अंसारी र अर्का एक व्यक्ति रहेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईका अनुसार, घटनाको गम्भीरता हेरेर अनुसन्धान तीव्र पारिएको छ।
डिएसपी राईले भने, “कुनै पनि व्यक्ति कानुनभन्दा माथि हुँदैन। घटनाको पूर्ण छानबिनपछि कानुनी प्रक्रिया अगाडि बढाइनेछ। हालसम्म कुनै औपचारिक उजुरी दर्ता भएको छैन।”
घटना सम्बन्धी भिडियोहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्। विशेषगरी मुस्लिम समुदायको व्यक्तिलाई जानाजान सुंगुरको खोरमा राखेर अपमानसाथ कुटपिट गर्नु धार्मिक र मानवअधिकार दृष्टिले पनि गम्भीर अपराध मानिएको छ।
कौशर अंसारी भन्छन्, “एउटा मुस्लिम व्यक्तिलाई सुंगुरको खोरमा हालेर कुट्नु भन्दा ठूलो पीडा के हुन सक्छ? हाम्रो धर्म, हाम्रो इज्जतमाथि नै प्रहार गरिएको छ।”
विवादको जड भने तश्लिम अंसारीले अर्का सुनचाँदी व्यवसायीकहाँ गहना बनाएको विषयमा सुरु भएको थियो। राजेन्द्र साहले आफूलाई तश्लिमकी सम्धिनीले पठाएको दाबी गर्दै तश्लिमको घरमा पुगेर गहनाको बारेमा सोधपुछ गरेका थिए। तर पछि त्यो दाबी झुटो सावित भयो, जसले गाउँमा पञ्चायतसमेत बस्न पुगेको थियो।
पञ्चायतमा विवादको क्रममा तश्लिमले राजेन्द्रमाथि हात हाल्दा झन झगडा बढेको थियो। दिउँसो राजेन्द्र समूहले प्रहरी कार्यालय बोलाउने निहुँमा तश्लिमलाई बाटोमै समातेर गाउँ फर्काएर कुटपिट गरेका थिए।
स्थानीयबासीहरूले घटनाको कडा निन्दा गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।
