जनकपुर । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ स्थित सरकारी स्वामित्वमा सञ्चालित जनकपुर चुरोट कारखाना करिब १० वर्षदेखि पूर्णरुपमा बन्द छ ।
सरकारले रुग्ण उद्योग सञ्चालनमा चासो देखाएको छ । तर सरकारले नै कुनै समय बन्द गरेको जनकपुर चुरोट कारखाना यथास्थितिमा सञ्चालनको सम्भावना नरहेको पूर्व कर्मचारी बताउँछन् ।
सरकारकै निर्णयअनुसार २०७० असार २० गतेबाट जनकपुर चुरोट कारखाना पूर्णरूपमा बन्द गरियो । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको नेतृत्वको तत्कालीन सरकारले जनकपुर चुरोट कारखानामा कार्यरत कर्मचारीहरूलाई अवकाश दिने निर्णय गरेको थियो । त्यस यता जनकपुर चुरोट कारखाना अहिलेसम्म बन्द छ ।
कारखाना बन्द हुँदा त्यहाँ कार्यरत तत्कालीन स्थायी तथा ज्यालादारी तथा करारका कर्मचारीहरूले अवकाश पाएका थिए । कारखानाको सुरुवाती चरणमा अधिकृत पुँजी ८ करोड र जारी तथा चुक्ता पुँजी ४ करोड ८ लाख ३७ हजार रुपैयाँ थियो ।
कारखाना अहिले मधेस सरकारको कब्जामा
बन्द रहेको जनकपुर चुरोट कारखानाको परिसर र यसका भवनहरूलाई हाल मधेस प्रदेश सरकारले आफ्नो प्रयोगमा ल्याएको छ । कारखाना भएको क्षेत्रमा मधेस प्रदेश सरकारको बोर्ड राखिएको छ ।
कारखानाका भवनहरूलाई रङरोगन र मर्मत सम्भार गरी मधेस प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू र प्रदेश सरकारको कार्यालय र मन्त्री निवासकोे रूपमा प्रयोग गरिएको छ ।
अहिले यस परिसरमा मुख्यमन्त्री कार्यालय, प्रदेश प्रमुखको कार्यालय तथा आवास, मुख्यमन्त्रीको आवास, आन्तरिक मामिला तथा गृह मन्त्रालय, वन, पर्यटन, उद्योग तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालयसहितका प्रशासनिक कार्यालयहरू छन् ।

