एजेन्सी।
पश्चिम बंगाल विधानसभामा सोमबार सत्तारुढ र विपक्षी सांसदहरूबीच हिंस्रक झडप भएको छ । सत्तारुढ तृणमूल कांग्रेस र विपक्षी भारतीय जनता पार्टी (भाजपा) सांसदबीच भएको झडपमा केही सांसदहरू घाइतेसमेत भएका छन् । विधानसभा अध्यक्षले झडपमा संलग्न रहेको भन्दै ५ जना विधायकलाई अर्को सूचना नभएसम्मका लागि निलम्बित गरेका छन् । निलम्बित हुने सबै भाजपाका विधायक हुन् ।
भाजपा विधायकले बीरभूम हिंसाको विषयमा बहसको माग गरिरहेका थिए । बैठक प्रारम्भ हुनासाथ भाजपा सांसदहरूले टीएमसी सरकारमाथि प्रदेशमा शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाउँदै प्रदेशको कानुन व्यवस्थालाई लिएर प्रश्न उठाएका थिए । त्यही क्रममा सत्तारुढ सांसदले हो-हल्ला सुरु गरेका थिए । त्यही बेला दुवै पक्षले नाराबाजी सुरु गरेका थिए ।
दुवै पक्षका विधायकहरूबीच कुटाकुट नै हुन पुगेको भारतीय मिडियाहरूले जनाएका छन् । एक सांसदले अर्को सांसद्को कपडासमेत च्यातेका छन् । बढी घाइते हुन पुगेका टीएमसीका एक जना विधायक अजित मजदुरलाई कलकत्ताको एक अस्पतालमा भर्ना गरिएको छ । पश्चिम बंगालको बीरभूम जिल्लाको रामपुरहाटमा गत सोमबार राति भएको हिंसामा ९ जनाको मृत्यु भएको छ । त्यहाँ २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सीबीआईले छानबिन थालेको छ ।
भाजपा सांसदहरूले तृणमूल विधायकले विधानसभाका सुरक्षाकर्मीसँग मिलेर आफूहरूमाथि आक्रमण गरेको आरोप लगाएका छन् । पश्चिम बंगालमा तृणमूल कांग्रेसको सरकार छ । त्यहाँ ममता बनर्जी मुख्यमन्त्री छिन् । उनी भाजपाको प्रखर आलोचकका रुपमा चिनिन्छन् ।
विधानसभा अध्यक्ष विमान बनर्जीले सदनमा भएको घटनालाई दुर्भाग्यपूर्ण भन्दै केही व्यक्तिले सदनको गरिमाको ख्याल नराख्दा उक्त घटना घटेको उल्लेख गरेका छन् ।