जनकपुरधाम।
धनुषा प्रहरीले जनकपुरधामस्थित सिटिइभिटीको परीक्षा केन्द्रबाट दुई नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ बस्ने २२ वर्षीय रामकृष्ण साह र सर्लाहीको बह्रमपुरी गाउँपालिका–२ बस्ने २० वर्षीय लक्ष्मी नारायण झा रहेका छन् ।
सिटिइभिटी बोर्डबाट सञ्चालित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष टोलीले जनकपुरधाम उपमहानगरपालिका–१ मा रहेको मोनाष्टिक आवासीय विद्यालयको परीक्षा केन्द्रमा ‘प्रि डिप्लोमा इन सर्भे इन्जिनियरिङ’ को परीक्षामा परीक्षार्थी लक्ष्मी नारायण झाको ठाउँमा रामकृष्ण साहले परीक्षा दिइरहेको अवस्थाबाटै पक्राउ गरिएको थियो ।
साथै नक्कली परीक्षार्थी खडा गर्ने लक्ष्मी नारायण झालाई समेत सोही परीक्षा केन्द्रको वरिपरी घुमिरहेको अवस्थामा पक्राउ गरी दुवै जनाउपर शिक्षा ऐनअन्तर्गत म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।