स्थानीय तह निर्वाचन गराउन ७ सय ५३ स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै छ । निर्वाचन अधिकृतहरू नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिइसकेका छन् ।
हरेक जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत हुन्छन् । मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको गाउँपालिका वा नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नेछन् । अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालय रहनेछन् । प्र
मुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रमा रहेका समस्या, आचारसंहिता पालनाको अवस्थासमेत निर्वाचन अधिकृतको कार्यालयले हेने बताए । उनले भने, ‘मतदाता नामावली टाँस्ने, उम्मेदवारी दर्ता, मतदान गराउनेदेखि मतगणना गर्ने कामसमेत यही कार्यालयले गर्नेछ ।’
कार्यालय स्थापना गर्दा सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, सम्बन्धित जिल्लाको निर्वाचन कार्यालय, अन्य कुनै सरकारी कार्यालय र सरकारी स्वामित्वमा रहेको कार्यालयको भवन प्रयोग गर्नुपर्ने सर्त निर्वाचन आयोगले तोकेको छ । सरकारी भवन उपलब्ध नभए मात्र भाडाको घर लिनुपर्ने हुन्छ ।
निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, सहायक कर्मचारी, लेखापाल, कम्प्युटर अपरेटर, सवारी चालक, कार्यालय सहयोगी, पीएसओ (निजी सुरक्षा अधिकारी) सहित नौ जना कर्मचारी रहनेछन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पनि नौ जनै कर्मचारी रहनेछन् ।
निर्वाचन अधिकृतको कार्यालय सञ्चालन तथा व्यवस्थापन खर्च २ लाख ५५ हजार रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने २ लाख ८५ हजार रुपैयाँ बजेटको सिलिङ दिइएको छ । कार्यालयको सुरक्षामा बढीमा १० जनासम्म सुरक्षाकर्मी परिचालन हुनेछ । कार्यालयमा खटिने नियुक्ति भएदेखि सुविधा पाउनेछन् । मुख्य निर्वाचन अधिकृतले जिल्लाभरिको स्थानीय तहमा समन्वय गर्न प्रत्येक स्थानीय तहको एक हजारका दरले भत्ता पनि पाउनेछन् ।
निर्वाचन अधिकृतले निर्वाचन अवधिभर एकमुष्ठ ५ हजार सञ्चार सुविधा पाउनेछन् । सुरुको तलब स्केलको एक सय प्रतिशत भत्ता पाउनेछन् । यसबाहेक हरेक दिनको खाजा खर्च पनि पाउँछन् । निर्वाचन अधिकृतको कार्यालयमा खटिनेले एक सय प्रतिशत भत्ता र खाजा खर्च पाउनेछन् ।