रौतहट — उपभोक्ता समूहले आफैंल रूख काट्न पाउनुपर्ने माग राखेपछि राष्ट्रिय गौरवको आयोजना मेची–महाकाली विद्युतीय रेलको काम फेरि अवरुद्ध भएको छ । रेल्वे आयोजना कार्यालय र वन उपभोक्ता समूहबीच विवाद बढेपछि रेल्वे ट्र्याकमा पर्ने रूख अहिलेसम्म काटिएका छैनन् ।
रेल्वे योजना कार्यालय लालबन्दीअन्तर्गतको वाग्मती–चाँदी खण्डको प्याकेज नम्बर ४ र ५ मा पर्ने रूख कटान गर्न वन उपभोक्ता समूह र रेल्वे कार्यालयबीच विवाद भएको हो । उक्त प्याकेजमा दोभान सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत ५ सय ७५ वटा रूख पर्छन् । त्यस्तै, रामलाल वृन्दावन साझेदारी वन व्यवस्थापन समूहका १ हजार ९ सय ७५ रूख काट्नुपर्नेछ । रेल्वे कार्यालयले रूख कटान र व्यवस्थापनमा सहज हुने भन्दै डेढ साताअघि नै नेपाल वन निगम लिमिटेड (तत्कालीन टीसीएन कार्यालय) सँग सम्झौता गरेको थियो । निगमले रूख कटान र व्यवस्थापनको जिम्मा पाएपछि साझेदारी र सामुदायिक वनका पदाधिकारीले विवाद झिकेका हुन् ।
रेल्वे कार्यालयका इन्जिनियर बोध भण्डारीले रूख कटान र व्यवस्थापनमा सहजताका लागि निगमसँग सम्झौता गरेको बताए । ‘समूहले कटान गर्दा तलमाथि हुन सक्छ । जतिसक्दो चाँडो र भरपर्दो काम गर्नुपर्ने भएकाले निगमलाई दिएका हौं,’ उनले भने, ‘अहिले सामुदायिक र साझेदारी वनका पदाधिकारीले आफूहरूले काट्न पाउनुपर्छ भनिरहेका छन् । अब बसेर चाँडै टुग्याउँछौं ।’
वनको कटान आदेश, मुआब्जा बिवाद, कोरोना महामारी र विभिन्न माग राख्दै स्थानीयले पटक–पटक गर्दै आएको अवरोधका कारण पूर्व–पश्चिम रेल आयोजनाको काम नियमित हुन सकेको छैन । जसका कारण तोकिएको समयमा काम सम्पन्न नहुने भएपछि फेरि म्याद थपिएको छ । वनले मन्त्रालयले झन्डै डेढ वर्षपछि रेल्वे ट्र्याकमा पर्ने रूख कटानको आदेश दिएको हो । तर, वन समूहको अवरोधका कारण फेरि आयोजना निर्माणमा झमेला थपिएको इन्जिनियर भण्डारीले गुनासो गरे ।
मेची–महाकाली विद्युतीय रेलमार्गको लम्बाइ ९४५ किलोमिटर छ । जसमध्ये रौतहटको वाग्मतीदेखि बाराको सीमाक्षेत्र धन्सारसम्म २२ किलोमिटर ट्र्याक बनाउने योजना छ । यही खण्डमा रुख कटान गर्नुपर्नेछ । दोभान सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष वीरबल काजी बम्जनले डिभिजन वन कार्यालय, रेल्वे र वन समूहका पदाधिकारी बसेर रुख काट्न वन समूहलाई दिने मौखिक सहमति गरे पनि रेल्वेले सुटुक्क निगमलाई दिएको आरोप लगाए । ‘रेल्वेले वन समूहलाई कटान गर्न दिने भनिएको थियो । हामी पनि आफ्नो समूहभित्र परेको रूख कटान र व्यवस्थापन गर्न सक्षम छौं भनेका थियौं,’ उनले भने, ‘कुनै जानकारीबिना निगमलाई कटान गर्न सम्झौता गरेकाले यसलाई मान्दैनौं । अब समूहले नै रूख कटान गर्न पाउनुपर्छ ।’ निगमले वन समूहलाई प्रतिनिधि र हेरालु माग गरेको छ । यही कारण समूहका पदाधिकारी निगम र रेल्वसँग रुष्ट छन् ।
कटानमै झमेला हुन थालेपछि अहिले काम रोकिएको छ । उक्त प्याकेजको ठेक्का लामा गोल्डेन गुड बिरुवा जेभीले पाएको हो । पश्चिम धन्सार क्षेत्रमा पर्ने रेल्वे ट्र्याक निर्माणको काम पनि रुख कटानकै कारण रोकिएको इन्जिनियर भण्डारीले बताए । त्यसक्षेत्रमा विभिन्न जातको २ हजार ६ सय ५२ वटा रुख कटान गर्नुपर्नेछ । यीमध्ये वन मन्त्रालयले ६९ वटा रुखको कटानको आदेश दिएको छैन । प्राविधिक कारणले आदेश नभएको डिभिजन वन प्रमुख अमरदेव यादवले बताए । ‘केही प्राविधिक कुराहरू प्रक्रियामा लैजान बाँकी छ,’ उनले भने, ‘प्रक्रिया पुरा भएपछि कटानको आदेश दिन्छौं ।’
मेची–महाकाली विद्युतीय रेलको रौतहट खण्डमा ट्र्याक निर्माण र कल्भटको कामको सन्तोषी कन्टेक्ट, लुम्बिनी एपेक्स, खानी, हिन्दुङ थोकर र गोल्डेन बिरुवाले ठेक्का लिएको छ । सबै प्याकेजको काम गत माघ १४ मै सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर, विभिन्न कारणले समयमै काम सम्पन्न हुन नसकेको रेल्वे आयोजना कार्यालय लालबन्दीले जनाएको छ ।