मोरङको लेटाङ घटनासँग जोडिएको नयाँ तथ्य बाहिर आएको छ। लेटाङमा हिंसात्मक झडपमा मारिएकी महिला प्रहरी उर्मिला श्रेष्ठको हत्या गोली प्रहारबाट भएको खुलेको हो। लेटाङ–५ मा गत चैत ६ गते भएको घटनामा महिला प्रहरी जवान २६ वर्षीया श्रेष्ठको हत्या भएको थियो। घाँटीमा धारिलो हतियार प्रहार गरेर उनको हत्या गरिएको दाबी प्रहरीको थियो। तर विराटनगरस्थित कोसी अस्पतालमा गरिएको पोस्टमार्टमको रिपोर्टले श्रेष्ठको हत्या गोली प्रहारबाट भएको पुष्टि गरेको हो।
हिंसात्मक झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो। तर महिला प्रहरीको शरीरमा भेटिएको गोली प्रहरीले प्रयोग गर्ने हतियारसँग ‘म्याच’ नखाएको बताइएको छ। सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेका अनुसार प्रहरीले गोली हान्ने व्यक्तिलाई पक्राउ र हतियार बरामद गरेको छैन। पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘फाइयर आम इन्जुरी’ लेखिएको छ।
लेटाङ–५ मा रहेको शिक्षा विकास माध्यमिक विद्यालयमा अध्ययरत छात्रालाई शिक्षक मनोज पौडेलले यौन दुर्व्यवहार गरेको घटना बाहिरिएपछि विद्यार्थी र अभिभावकले प्रदर्शन गरेका थिए। प्रदर्शन उग्र बनेर हिंसात्मक झडपमा परिणत भएको थियो। शिक्षक पौडेललाई पक्राउ गरेर फर्कदै गरेको प्रहरी टोलीमाथि आक्रमण हुँदा श्रेष्ठ मारिएकी हुन्।
प्रहरीका अनुसार झडपका क्रममा गोली चलेको थियो। प्रदर्शनकारीले प्रहार गरेको गोली लागेर श्रेष्ठको मृत्यु भएको प्रहरी दाबी छ। प्रहरीले गोली चलाउने व्यक्तिको पहिचान हुन बाँकी रहेको जनाएको छ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले घटनाको अनुसन्धान गर्ने समय सकिएका कारण सरकारी वकिल कार्यालयमा अनुसन्धानको मिसिल बुझाइएको जानकारी दिए। अझै पनि घटनाको अनुसन्धानलाई भने जारी राखिएको उनको भनाइ छ। हतियार र गोली प्रहार गर्ने व्यक्तिको पहिचान खुलेपछि पूरक अभियोग लैजाने प्रहरीको तयारी छ। उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म ६३ जनालाई पक्राउ गरिसकेको छ।
प्रहरीले अनुसन्धानको मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ताको तयारी गरेको छ। पक्राउ परेकामध्ये १४ जनाविरुद्ध कर्तव्य ज्यान र १५ बालकसहित अन्यविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरिने भएको हो। छुट्टै कर्तव्य ज्यान मुद्दा दर्ता गरिएका एक जना बालकलाई भने थुनछेक बहसपछि अदालतले मंगलबार नै अभिभावकको जिम्मा लगाउन आदेश दिएको छ।
१४ वर्षीय बालकलाई न्यायाधीश शिशिरराज ढकालको इजलासले अभिभावकको जिम्मा लगाउन आदेश दिएको हो। ६२ जनाविरुद्ध भने बुधबार मुद्दा दर्ता गरिने सरकारी वकिल कार्यालयले जनाएको छ।