प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाण्डौको खाली जग्गा भूमाफियाहरुकाे कब्जामा रहेको बताउनु भएको छ ।
आज सहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनु भएको हो। उहाँले काठमाण्डौका खाली ठाउँहरुमा भूमाफियाहरुले आफ्नो नाममा लिने काम भइरहेको भन्दै यसमा सचेत भएर काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयाे, 'भूमाफियाहरुले जथाभाबी ठाउँठाउँमा जग्गा हडप्दै गएका छन् । जसले पनि आफ्नो नाममा गरेका छन्। यसमा पनि ध्यान दिनुपर्नेछ । नत्र भोलि काठमाण्डौका कुनै ठाउँ बाँकी हुने छैनन् ।’
प्रधानमन्त्री देउवाले काठमाण्डौमा फोहरको समस्या जटिल बन्दै गएको भन्दै फोहरबाट विद्युत र ग्यास निकालेर व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । उहाँले फोहर व्यवस्थापन हुन नसक्दा सरकार नै लाजमर्दो भइरहेकाे बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले काठमाण्डौमा फोहर नै फोहर छ । व्यवस्थापन भएको छैन । फोहर थुप्रिएको छ । फोहरबाट ग्यास निकाल्न सकिन्छ, बिजुली निकाल्न सकिन्छ । मैले आफैँले देखेर आएको छु धरानमा । फोहरका थुप्रोलाई व्यवस्थित गरेर बिजुली निकाल्ने सम्भावना छ । विदेशी राजदूतहरुले पनि हामी त्यसको लागि काम गर्न तयार छौँ भनेका छन् ।'
प्रधानमन्त्री देउवाले अहिले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई ध्यान दिएर मात्रै काम गर्ने प्रतिबद्धता समेत जनाउनु भयो।