जनकपुर।
राजनीति दलहरू चुनावी तालमेल र गठबन्धनका बिषयमा स्पष्ट बन्न नसक्दा महोत्तरीका स्थानीय तहमा उम्मेदवार छनोट प्रक्रिया अन्योल बनेको छ ।
गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयले स्थानीय राजनीति दलका नेता कार्यकर्ताहरू बीचमा व्यापक मतभेद हुँदा प्रचारप्रसार अभियान समेत अघि बढ्न सकेको छैन ।
विशेषगरी नेपाली काँग्रेसभित्र महोत्तरीमा गठबन्धन गर्ने र नगर्ने भन्ने बिषयमा पक्ष र विपक्षमा बहस चलिरहेको छ । कतिपय पालिकाले त गठबन्धन नगर्ने निर्णय गर्दै प्रदेश र केन्द्रलाई पत्र समेत पठाइसकेका छन् ।
शनिवार नेपाली काँग्रेस बर्दिबास नगरपालिकाले गठबन्धन गर्न नसकिने निर्णय गरेको थियो । गठबन्धन गर्दा सिङ्गो नेपाली काँग्रेसका नेता कार्यकर्ताको मनोबल घट्ने भन्दै गठबन्धन अस्वीकार गर्ने उनीहरूको निर्णय थियो ।
यसैबीच बर्दिबास नगरपालिकाका पाँच वडामा काँग्रेसले वडा अध्यक्षमा उम्मेदवारको छानेको जनाएको छ । बर्दिबास–३ बाट यज्ञप्रसाद ढुङ्गेल, वडा नम्बर १ बाट भोला खड्का, वडा नम्बर ७ बाट भोरिल यादव, वडा नम्बर ८ बाट जीवन लामा र वडा नम्बर २ बाट चोलाराज प्याकुरेल सर्वसम्मतबाट छानिएका छन् ।
माओवादी केन्द्र र नेकपा एस स्पष्टरूपमा गठबन्धनको पक्षमा देखिएपनि काँग्रेसभित्र देखिएको विवादले उम्मेदवार छान्न समस्या बनेको छ । माओवादी केन्द्रले पनि उम्मेदवार छान्ने प्रक्रियालाई जसरी अगाडि बढाउनुपर्ने हो त्यसरी हुन सकेको छैन । अहिलेसम्म बर्दिबास वडा नम्बर १० र ११ मा मात्र उम्मेदवार टुङ्ग्याइएको जिल्ला इन्चार्ज राजु खड्काले जानकारी दिए ।
वडा नम्बर १० बिनोद श्रेष्ठ र ११ मा गोपाल लामा छानिएको माओवादी केन्द्रले जनाएको छ । नेकपा एस र माओवादी केन्द्र चुनावी गठबन्धनमा अडिग रहेपनि नेकपा एमाले, नेपाली काँग्रेस र मधेसवादी दलहरू भने अझै आन्तरिक गृहकार्यमा व्यस्त छन् ।
अघिल्लो निर्वाचनमा मधेसवादी दलहरू यहाँका स्थानीय तहमा बलिया देखिएका थिए । १५ पालिकामध्ये नौ पालिकामा मधेसवादी दलले बर्चस्व कायम गरेका थिए । तर, पछिल्लो राजनैतिक घटनाक्रमले मधेसवादी दलहरू छिन्नभिन्न भएका छन् । अहिले मधेशवादी कुनै पनि दल एक्लै चुनाव लड्न सक्ने अवस्थामा छैनन् ।
माओवादी केन्द्र भने तालमेल गर्नैपर्ने मनस्थितिमा छ । सत्ता गठबन्धनमा समीकरण भएअनुसार नै कांग्रेस, नेकपा एस र माओवादी केन्द्र चुनावी तालमेल पछिसम्मै रहने बताउँदै आएका छन् ।
बर्दिबास नगरपालिकामा काँग्रेसका नेता चिरञ्जीवी हमाल र प्रह्लाद क्षेत्रीबीच कसले टिकट लिने भन्ने विषयले चर्चा पाएको छ । नेता हमाल र क्षेत्रीको पक्षमा लविङ्ग गर्ने नेता कार्यकर्ता यतिबेला पक्ष विपक्षमा बिभाजन भएका छन् । नेता क्षेत्रीले टिकट नपाए कतिपय कार्यकर्ताले पार्टी नै छाड्नेसम्मको चेतावनी दिएका छन् भने हमाल पक्षधरहरूको लबिङ्ग पनि नेता क्षेत्री पक्षको भन्दा कम छैन ।
महोत्तरीका नेता चिरञ्जीवी हमाल, जिल्ला सभापति नागेश्वर यादवलगायत नेताहरू भने गठबन्धनको पक्षमा छन् । नेता क्षेत्रीले त बर्दिबास नगरपालिकामा गठबन्धनको कुनै औचित्य नभएको प्रष्ट बताइसकेका छन् । चुनावी तालमेल गर्दा पनि नेताहरूमा मत बिभाजन हुँदा गठबन्धनको विषयमा कतिपय पालिकामा अन्योल सिर्जना भएको छ ।
उम्मेदवार छान्नमै विवाद भएकाले जिल्लामा चुनावी प्रचारप्रसार समेत सुस्त बनेको छ ।