सशस्त्र प्रहरी पर्साले वीरगञ्जबाट एकै दिन करिब डेढ करोड मूल्य बराबरको तस्करीको सामानसहित दुईवटा ट्रकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वार्टर पर्साबाट खटिएको सशस्त्र प्रहरी टोलीले वीरगञ्जबाट मालसामान लिएर पथलैयातर्फ जाँदै गरेको अवस्थामा वीरगन्ज महानगरपालिका–१४ गण्डक सडकखण्डबाट २ वटा ट्रक नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले गण्डक चोकबाट ना २ ख ९५४३ र ना ७ ख ९४२ नम्बरको दुवै ट्रक रोकेर चेकजाँच गर्दा करिब डेढ करोड मूल्य बराबरको तस्करीको सामान फेला परेको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वाटर पर्साले जनाएको छ ।
चेकजाँचको क्रममा ना २ ख ९५४३ नम्बरको ट्रकबाट भन्सार प्रज्ञापन–पत्र नभएको मेडिकल उपकरण, औषधि र अन्य खुद्रा सामान गरी ९४ लाख ५३ हजार ५८ रुपैया मूल्य बराबरको सामान बरामद गरिर्एको छ । त्यस्तै ना ७ ख ९४२ नम्बरको ट्रकमा भन्सार प्रज्ञापन–पत्र नभएको ५१ लाख ९२ हजार ६ सय १७ रुपैया मूल्यको कपडा र अन्य सामान फेला परेको छ ।
दुवै ट्रकबाट एक करोड ४६ लाख ४५ हजार ६ सय ७५ रुपैया मूल्यको सामान बरामद भएको जानकारी गराइएको छ । बरामद सामन र दुवै ट्रकको २५÷२५ लाख गरी जम्मा एक करोड ९६ लाख ४५ हजार ६ सय ७५ रुपैयाँ मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको बताइएको छ ।
यसैगरि सशस्त्र प्रहरीले माघ, फागुन र चैत गरी तीन महिनाको अवधिमा छ करोड २० लाख ४६ हजार ५ सय २२ रुपैया मूल्य बराबरको तस्करीको सामान बरामद गरेर आवश्यक कारवाहीको लागि वीरगन्जस्थित भन्सार कार्यालयमा पठाएको जनाएको छ । २०७८ माघ महिनामा ६२ लाख ४७ हजार २ रुपैया, फागुन महिनामा एक करोड १४ लाख ३६ हजार १ सय ४७ रुपैया तथा चैत महिनामा ४ करोड ४३ लाख ६३ हजार ३ सय ७३ रुपैया गरी छ करोड २० लाख ४६ हजार ५ सय २२ रुपैया मूल्य बराबरको तस्करीको सामान भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
त्यसैगरी यी तीन महिनाको अवधिमा १११.५० केजी गाँजा, ४.८७० केजी चरेश, ३ केजी अफिम, १०० मिलीग्राम ब्राउनसुगर, ६ ट्याब्लेट डाइजोपाम, २ एम्पुल नुर्फिन, ६ एम्पुल फेनागरन, ७१८ एम्पुल नाइट्रोभेटसहित यस कार्यमा संलग्न २० जनालाई पक्राउ गरि सम्बन्धित निकायलाई आवश्यक कारवाहीको लागि बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।
त्यस्तै कटुवा पेस्तोल १ थान, त्यसमा प्रयोग हुने ७.६२ मि.मि. राउण्ड १ थान बरामद गरी जिल्ला प्रहरी कार्यालयमा पठाइएको जनाएको छ ।