जनकपुर।
आइतबारदेखि निरन्तर सञ्चालनमा रहेको नेपाल रेल्वेमा मालवाहक बोगी समेत जडान गर्नुपर्ने जनकपुरका उद्योगी व्यवसायीले माग गरेका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले रेल सञ्चालन भएसँगै रेल्वे सञ्चालन रुट क्षेत्रका सर्वसाधारण लाभान्वित भए पनि यसले सामान्य प्रभाव मात्रै पर्ने बताउँछन् ।
मालवाहक बोगीको व्यवस्था भएपछि मात्र व्यवसायीले पनि लाभ लिन सक्ने बताउँदै उनले ठूलो मात्रामा सामग्री ढुवानी गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई रेलमा मालवाहक बोगी जडान गर्न माग गर्दै अध्यक्ष महासेठले ज्ञापन पत्र बुझाइसकेका छन् ।
नेपाली रेल यात्रुहरूका लागि नियमित सेवा दिनु अगावै घाटामा गइरहेको चर्चा छ । नेपाल रेल्वे कम्पनीले फागुन १ गतेदेखि एक महिनासम्म ट्रायलको क्रममा सञ्चालन गर्ने क्रममै भएको ड्राई रनमा ३० लाख रुपैयाँ भन्दा बढी खर्चे थियो ।
जसमा २० लाख रुपैयाँ कर्मचारीहरूमै खर्च भएको थियो भने ईन्धनमा १० लाख रुपैयाँ भन्दा बढी खर्च भएको नेपाल रेल्वे कम्पनीले जनाएको थियो । अहिले रेल्वे कम्पनीसँग ११ जना स्थायी कर्मचारी छन् । त्यस्तै ५९ जनालाई करारका कर्मचारी छन् ।
यद्यपि महाप्रबन्धक निरञ्जन झा भने रेल सेवा सञ्चालन भएसँगै नाफा घाटाको हिसाबकिताब अहिले नै गर्नु हतार हुने बताउँछन् । उनले भने, ‘यसको हरहिसाबका लागि कम्तीमा महिनासम्म कुर्नै पर्छ, हामीले आम जनतामा पुग्ने गरी सम्पूर्ण हिसाबकिताब पारदर्शीरुपमै सार्वजनिक गर्नेछौँ ।’
तर झा पनि यात्रु ओसारेर मात्र नेपाल रेल्वे कम्पनी फाइदामा जान नसक्ने स्वीकार गर्छन् । उनले रेल्वेमा मालवाहक बोगी जोडिपछि रेलले उपलब्धीसहित फाइदा हुने सक्ने अनुमान लगाए । उनले भने, ‘प्यासेन्जर ट्रेनले मात्रै फाइदा हुँदैन, यसका लागि मालवाहक बोगी जोड्नै पर्नेहुन्छ र यसका लागि हामीहरु योजना बनाइरहेका छौँ ।’
महाप्रबन्धक झाले सरकारले रेल सञ्चालनमा ६ महिनासम्म सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए । ६ महिनाभित्र मुनाफामा लगेर देखाउने उनको दाबी छ । यसका लागि रेल्वे कम्पनीका जग्गाहरु व्यापारिक प्रयोजन वा अन्य प्रयोजनका लागि प्रयोग गरेर भए पनि आम्दानी गर्न सकिने बताए । प्रत्येक रेल्वे स्टेशनमा नेपाल रेल्वे कम्पनीको आफ्नो जग्गा छ । भारतको रक्सौलमा समेत २८ हेक्टर जग्गा रहेको छ ।