जनकपुर।
जनकपुरधाम उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि देखिने गरी एउटा काम भएको छ, शहीद गेट निर्माण ।
जनकपुरको मुजेलियामा यो गेट निर्माण गरिएको छ । सडक बत्ती जडान, केही ठाउँमा सीसीटीभी क्मामेरा जडानका काम नगरमा भएका छन् ।
धनुषाकारको शहीद गेटको माथि भगवान श्रीरामले धनुषमा प्रत्यञ्चा चढाएको मूर्ति राखिएको छ । यही गेटमा मधेश आन्दोलनमा धनुषामा शहीद भएका नीतु यादव, सञ्जय चौधरी र दिलीप यादवको अर्ध कदको सालिक राखिएको छ ।
तर साढे ४ करोड लागतमा यो गेट बनाउँदा मात्र हैन सडक बत्ती राख्दा पनि भ्रष्टाचार भएको भन्दै मेयरमाथि प्रश्न उठेको छ । ‘बिजुली पोल गाड्नेदेखि बिजुली उपकरण किन्ने विषयमा पनि अनियमितता मात्रै गरिएको छ’, कांग्रेसबाट मेयरमा उठेका मनोज साह आरोप लगाउँछन् ।
मेयर साहको कामप्रति आफू मात्र नभई नगरका कुनै पनि नागरिक सन्तुष्ट नरहेको उनी बताउँछन् । ‘मेयरको कामले थोरै पनि सन्तुष्ट छैनौं’ कांग्रेसका साह भन्छन्, ‘उनी सामन्ती नेताको रूपमा प्रस्तुत भएका छन् ।’
कार्यकाल सम्हाल्ने वित्तिकै तानाशाही रूपमा नगरमा घर र जग्गा कर दोब्बर बढाएर जनताको ढाड सेक्ने काम गरेको उनको आरोप छ ।
कांग्रेसका साह आफूहरूले २०औं पटक ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउँदै प्रतिपक्षीको भूमिका निभाए पनि मेयर नसुध्रिएको बताउँछन् ।
‘कोरोना मेयरका लागि सञ्जीवनी बुटी बन्यो, उनलाई आत्मरक्षाको मौका दियो’ साह भन्छन्, ‘प्रतिपक्षीले पनि काम गर्न सकेनन्, जनप्रतिनिधिलाई भ्रष्टाचार गर्न सजिलो भयो । साबुन, तौलियालगायतका सामानमा व्यापक अनियमितता भयो ।’