जयनगर–जनकपुर–कुर्था खण्डमा करिब ८ वर्षपछि रेल चलेको छ । शनिबार भारतको नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले हरियो झन्डा हल्लाएपछि जयनगरबाट नेपाली रेल धनुषाको कुर्थाका लागि प्रस्थान गरेको थियो । दुवै प्रधानमन्त्रीले भर्चुअल उद्घाटन गरेलगत्तै जयनगर–जनकपुरको रेल्वे स्टेसनमा स्थानीयमा उत्साह देखिन्थ्यो ।
न्यारोगेजमा यही रूटमा चलिरहेको पुरानो रेल बन्द भएपछि भारतको सहयोगमा ब्रोडगेज लिक निर्माण भएको थियो । त्यही लिकमा चलाउन नेपाल सरकारले दुई सेट डेमु रेल खरिद गरेको थियो । उद्घाटनको लामो प्रतीक्षालाई अन्त्य गर्दै शनिबार मध्याह्न रेल गुड्दा सबैजसो प्लेटफर्म र स्टेसनमा रेलमा फूलमाला छर्केर स्थानीयले स्वागत गरे । दुवै रेल एउटैमा जोडिएकाले फूलमाला र सजावटले भव्य र आकर्षक देखिन्थ्यो । जयनगरबाट हिँडेको रेलमा नेपाल र भारतका उच्च अधिकारीहरू चढेका थिए । जनकपुर आएपछि रेलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि चढेर कुर्था पुगेर फेरि जनकपुर फर्किएका थिए ।
रेल चल्न थालेपछि जयनगरवासी खुसी भएको भारतीय व्यवसायी प्रितम कुमारले बताए । ‘रेल सेवा बन्द हुँदा नेपालीहरू जयनगर बजारमा किनमेल गर्न आउन छोडेपछि ठूलो नोक्सन भयो,’ प्रितमले भने, ‘रेलबाट भारतीय पर्यटकलाई जनकपुर जान सहज हुनुको साथै नेपालीहरू किनमेल गर्न जयनगर आउँदा व्यवसाय फस्टाउने छ । दुवै सरकारले भन्सार र सुरक्षा व्यवस्था गरे रेल सेवा प्रभावकारी हुनेछ ।’
भारतको ठूलो जक्सन जयनगरदेखि नेपालको पूर्वपश्चिम राजमार्गको बर्दिबासमा जोडिएको ब्रोडगेज रेल्वेअन्तर्गत रेलले हाल जयनगरदेखि कुर्थासम्म यात्रु ओसार्नेर्छ । अनलाइन प्रविधिबाट रेलको टिकट उपलब्ध गराउने व्यवस्था गरिएको छ । टिकटमा क्यूआर कोड हुनेछ । रेलमा यात्रा गर्ने यात्रुको टिकट अनलाइनबाटै जाँच गर्ने उपकरण टीटीलाई उपलब्ध गराइएको छ । आइतबारदेखि रेल बिहान र दिउँसो दुई पटक यात्रु लिएर जयनगर–कुर्था खण्डमा चल्नेछ ।
जनकपुर–जयनगर ७० र कुर्था–जयनगर ९० रुपैयाँ भाडा कायम गरिएको छ । एसी बोगीमा भने जनकपुर–जयनगर ३ सय ५० र कुर्था–जयनगर ४ सय ५० रुपैयाँ भाडा तय गरिएको छ । रेल चलाउन २६ जना भारतीय प्राविधिक कर्मचारी आइसकेका छन् । पहिलो चरणमा ५९ नेपाली कर्मचारी राखिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए । २०७७ असोजमा दुवै रेल सेट भारताबाट जनकपुर ल्याइएको थियो । सञ्चालनको टुंगो नलाग्दा लामो समयसम्म रेल पालले छोपेर राखिएको थियो ।
८ वर्षअघि जनकपुरको रेल्वे स्टेसन गुलजार थियो । स्टेसनभित्रै साहित्यदेखि अध्यात्म्यसम्मको पुस्तक पाइने राजेन्द्र गुप्ताको बुक स्टल थियो । परिसरमै दर्जनौं फलफूल र चिया नास्ताका पसल । रिक्सा चालक र यात्रुको चहलपहल उस्तै । नेपाल–भारतबीच सन् २०१० मा भएको सम्झौताअनुसार जयनगर–जनकपुर–भंगहा–बर्दीबास रेल मार्ग निर्माण तथा विस्तार आयोजना सुरु भएपछि २०७० साल माघ १७ देखि रेल सेवा बन्द भयो । रेल्वेको जग्गामा सञ्चालित पसल हटाइए । रिक्सा अन्तै गए । रेल नै नचलेपछि स्टेसनमै दैनिक मजदुरी गरेर जीवनयापन गर्ने श्रमिक बेरोजगार भए ।
तर, रेल सञ्चालनमा आएपछि व्यवसायीदेखि दैनिक मजदुरी गर्नेको मुहारमा रौनक फर्किएको छ । शनिबार भए पनि स्टेसनदेखि भानु चोकसम्मका प्रायः सबै पसल खुला थिए । ‘अब जनकपुर बजारमा फेरि गुलजार हुनेछ,’ जनकपुरका व्यवसायी गौतम अग्रवालले भने । रेल बन्द हुँदा र दुई वर्षयताको कोरोना महामारीले आर्थिक रूपले टाट पल्टिसकेका पान पसले बच्चु राय कुर्मी खुसी देखिए । ‘कति जनाले त अन्त पसल सार्ने सल्लाह पनि दिए । तर पुनः रेल सञ्चालन भएपछि दिन फिर्ला भनेर यहीं बसे । आशा गरौं, रेल चलेपछि राम्रो होला व्यापार,’ उनले भने ।
रेल सेवा बन्द भएपछि नास्ता पसले हरि गुप्ता, जनता केविनका सञ्चालक हरि मण्डल, चिया पसले गुडु साह, फलफूल विक्रेता लक्ष्मण साह तथा माछा पसले सञ्जय प्रधानलगायत दर्जनौं व्यवसायी यहाँबाट विस्थापित भइसकेका छन् । तीमध्ये केहीले पेसा नै परिवर्तन गरेका छन् भने केही विदेश गएका छन् । पसलमा ग्राहक आउन छाडेपछि स्टेसन एरियाकै नास्ता पसलका सञ्चालक बेचन साहले आफ्ना दुईमध्ये एक छोरालाई विदेश पठाए । रेल फेरि चलेपछि उनी छोरालाई फिर्ता बोलाउँदै छन् ।
समय तालिकाअनुसार दैनिक दुई अप र डाउन रेल सेवा सञ्चालन हुनेछ । एक पटकमा १ हजार ३ सय यात्रु बोक्ने क्षमता भएको रेलमार्फत दैनिक ५ हजार यात्रु जनकपुर आउजाउ गर्नेछन् । यात्रीहरूको बढ्दो गतिविधिको सकारात्मक प्रभाव उद्योग व्यवसायमा पर्ने विश्वास जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको छ । रेलमार्गबाट सरसामान आयात गर्दा ढुवानी खर्च आधाभन्दा पनि कम लाग्ने उनले बताए । ‘दक्षिण भारतबाट ट्रकमा चामल आयात गर्दा प्रतिकिलो १६ रुपैयाँ ढुवानी खर्च लाग्छ । तर रेलमार्गबाट ल्याउँदा प्रतिकिलो ५ वा ६ रुपैयाँ मात्र पर्छ,’ महासेठले भने ।
आइतबारदेखि सञ्चालन हुने जयनगर–जनकपुर–कुर्था रेलमा मालसामान ढुवानी गर्ने सुविधा भने छैन । जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष महासेठले यात्रीसँगै मालसामान ढुवानी गर्ने बोगीसमेत थप्न माग गरे । १९९४ सालमा महोत्तरी जंगलबाट सखुवाको गोलिया काठ ओसार्न भारतले निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको विजुलपुराबाट भारतको जयनगर (५२ किलोमिटर) सम्म सञ्चालनमा थियो । २०५९ को बाढीले विग्ही पुल क्षतिग्रस्त भएपछि रेल सेवा जनकपुरदेखि–जयनगर (२९ किलोमिटर) मा खुम्चिएको थियो ।