जनकपुरधाम ।
उद्घाटन पश्चात् भारत, विहारको जयनगरबाट जनकपुरधामसम्म दुलहीझैँ सिँगारिएर आएका रेलको हरेक स्टेशनमा भव्य स्वागत गरिएको छ ।
रेल खरिद गरेर ल्याएको १८ महिनापछि आज मध्यान्ह भारतको नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीले रिमोट थिचेर रेलको उद्घाटन गरेका थिए । लगत्तै देउवा-मोदीले हरियो झण्डा देखाएपछि जयनगरबाट रेल गुडेको थियो ।
जयनगरबाट करिब ३५ किलोमिटर जनकपुरसम्म आएका रेललाई ठाउँ-ठाउँमा स्वागत गर्न सर्वसाधारण उर्लिएका थिए ।
जनकपुरमा मधेसका मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव लगायतले समेत स्वागत गरे ।
सर्वसाधारणको अत्यधिक भीड लागेपछि रेल कुदाउन हम्मे हम्मे परेको थियो । लामो समयको प्रतीक्षापछि रेल सञ्चालनमा आएपछि जनकपुर बासी उत्साहित देखिए । स्वागतका क्रममा विद्यार्थीहरू नेपाल र भारतका झण्डा हल्लाएका थिए ।
रेल भोलिदेखि दैनिक दुई पटक आवत-जावत गर्ने रेल्वे कम्पनीका महानिर्देशक निरञ्जन झाले जानकारी दिए । उनका अनुसार रेल चढ्न परिचयपत्र अनिवार्य गरिएको छ ।