भारतले प्रधानमन्त्री शेरबहादुर देउवाको भव्य स्वागतको तयारी गरेको छ । इन्दीरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलदेखि प्रधानमन्त्री देउवा बस्ने चाणक्यपुरीस्थित होटल आटिसी मोर्यसम्म स्वागतको भव्य तयारी गरेको हो । विमानस्थलदेखि होटेलसम्मको सडकमा नेपाल र भारतको झण्डा, प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त फोटो टाँगिएको छ।
प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शुक्रबार नयाँ दिल्ली आउँदैछन्। ५० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारतको औपचारिक भ्रमणमा आउन लागेका हुन्।
प्रधानमन्त्रीका साथमा उनकी पत्नी डा. आरजु राणा देउवालगायत परराष्ट्रमन्त्री डा. नारायण खड्काकासाथै अन्य वरिष्ठ मन्त्री, सचिव र अधिकारी सहभागी छन्। उक्त भ्रमणले नेपाल र भारतबीचको बहुआयामिक, सदियौं पुरानो र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएको छ।
नेपालबाट प्रधानमन्त्रीस्तरको भारत भ्रमण यो चार वर्षपछि भएको हो।