प्रधानमन्त्री शेरबहादुर देउवाको यस कार्यकालको पहिलो भारत भ्रमण तय भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा यही चैत १८ गते प्रम देउवा भारत भ्रमणमा जान लागेका हुन ।
आज (सोमबार) भारतको विदेश मन्त्रालयले उक्त भ्रमण तालिका तय भएको जानकारी दिएको हो । विज्ञप्ति जारी गर्दै विदेश मन्त्रालयले प्रधानमन्त्री देउवाको उच्चस्तरीय प्रतिनिधिमण्डल सहित हुने भारतको तीनदिने भ्रमण तय भएको जनाएको छ । आउँदो शुक्रबार (चैत १८ गते) भारत गएर प्रम देउवा आइतबार (चैत २० गते) स्वदेश फर्किने जनाइएको छ ।
भारतीय विदेश मन्त्रालयले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवाले चैत १९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय भेटवार्ता हुने जनायएको छ ।
प्रम देउवाले समकक्षी मोदीसँगको भेटमा जयनगर–जनकपुर रेलवेको भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । यसका साथै भारतले नेपालका विभिन्न जिल्लामा १३७ स्वास्थ्य चौकी बनाउन र भक्तपुरमा हिन्दु मठ निर्माण गर्न समेत सहयोग गर्ने र यस सम्बन्धी सम्झौतामा सोही बेला हस्ताक्षर हुनसक्ने बताइएको छ ।
प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति बैंकया नायडु, विदेशमन्त्री डा. एस जयशंकर तथा त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको विज्ञप्तीमा उल्लेख छ ।