सिरहा ।
सिरहामा एकैदिन ठूलो लागतको दुई सडकको शिलान्यास गरिएको छ । चोहर्वा–सिरहा–माडर चार लेन र मिर्चैया–कल्याणपुर–सिरहा दुई लेन गरी दुई सडक योजनाको शुक्रबार एकैदिन शिलान्यास गरिएको हो ।
दुबै सडक योजनाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव र जसपा नेता तथा सिरहा ४ का प्रतिनिधिसभा सांसदसमेत राजकिशोर यादवले संयुक्त रुपमा शिलान्यास गरेका छन् । दुबै सडकका लागि पहिलो चरणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ४०÷४० करोड रुपैयाँ विनियोजन गरेको छ ।
जस अनुसार २२ मिटर चौडाइ रहने चोहर्वा–सिरहा–माडर चार लेन सडकखण्डमा पहिलो चरणमा २५ सय ५० मिटरको काम हुनेछ । यो सकडमा गाउँ क्षेत्रमा १४ मिटर र शहरी क्षेत्रमा १८ मिटर कालोपत्रे गर्ने योजना रहेको छ ।
यस्तै, मिर्चैया–कल्याणपुर–सिरहा सडकखण्डमा पहिलो चरणमा ८५ सय ८० मिटरको काम हुनेछ । दुई लेनको यो सडकको चौडाइ भने ११ मिटर रहनेछ । सडक निर्माणको समयावधि २ वर्षको रहेको छ । सिरहा सदरमुकाम जोड्ने चोहर्वा–सिरहा–माडर सडक र यस क्षेत्रको लाइफलाइन मानिने मिर्चैया–कल्याणपुर–सिरहा सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले आर्थिक विकास र समृद्धिको प्रमुख आधार सडक नै रहको बताइन् । सिरहाको यो दुबै सडक निर्माण भए यहाँको विकासले गति लिने विश्वास उनले व्यक्त गरिन् । मन्त्री यादवले सडक निर्माणको कार्य समयमै सम्पन्न हुने प्रतिवद्धतासमेत जनाइन् ।
यस्तै, सांसद यादवले लामो प्रयासपछि यत्रो ठूलो लगानीको सडक आयोजना सिरहामा ल्याउन सकिएको बताउँदै यसको निर्माणको काम सम्पन्न भइसकेपछि यहाँका जनताको जनजीवन सहज हुने र जीवनस्तरमा परिवर्तन ल्याउन मद्दत गर्ने विश्वास लिए । उनले सडक निर्माणको कार्यमा सबै क्षेत्रलाई सकारात्मक सहयोगका लागि आग्रहसमेत गरे ।
कार्यक्रममा मन्त्री यादव र सांसद यादवसहित प्रदेश सांसद सुरेश कुमार मण्डल, जसपा नेता रामरिझन यादव लगायतको उपस्थिति रहेको थियो ।