चिनियाँ विदेश मन्त्री वाङ यी आज (शुक्रबार) नेपाल भ्रमणमा आउने भएका छन्। परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा आउन लागेका चिनियाँ विदेशमन्त्री वाङ आइतबारसम्म नेपाल रहनेछन्।
नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। वाङले शनिबार परराष्ट्रमन्त्री खड्कासँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।
नेपाल बसाइमा चिनियाँ विदेशमन्त्रीले प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपालले अमेरिकी सहायता परियोजना एमसीसी पारित गरेपछि चीनका तर्फबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो। उक्त भ्रमणमा चिनियाँ बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) सम्बन्धी परियोजनामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्रीको नेतृत्वमा दुई मुलुकका प्रतिनिधिमण्डलबीच द्विपक्षीय बैठक हुने बताइएको छ ।