जनकपुर।
बाँयाबाट क्रमश: डीएसपी सुनील दाहाल, प्रहरी निरीक्षकहरु होमप्रसाद अधिकारी र जीवन मैनाली ।
७ चैत, काठमाडौं । इलाका प्रहरी कार्यालय, काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनील दाहालसहित तीन प्रहरी अधिकृत कारबाहीमा परेका छन् ।
सवारी दुर्घटनाको घटनामा आर्थिक प्रलोभनमा नक्कली चालक खडा गरेको पाइएपछि दाहालसहित काँकडभिट्टाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारी र जीवन मैनाली कारबाहीमा परेका हुन् ।
१ नं. प्रहरी कार्यालय, विराटनगरका प्रमुख अरुणकुमार बिसीले तीन जनालाई रेकर्डमा जाने गरी नसिहत दिइएको अनलाइनखबरलाई बताए । ‘घटनाबारे उजुरी परेपछि छानविन गरेका थियौं, त्यसक्रममा कैफियत देखिएपछि कारबाही गरिएको हो’ प्रहरी नायब महानिरीक्षक (डीआईजी) बिसीले भने ।
स्रोतका अनुसार ९ वैशाख २०७८ मा झापाको मेचीनगर नगरपालिका–८, मेचे टोलमा मे ५ प ९६६१ नम्बरको मोटरसाइकलले पैदलयात्री ६० वर्षीय वाङ्ठु भन्ने झुलु मेचेलाई ठक्कर दिएको थियो ।
घटनामा कारबाही प्रक्रिया अघि बढाउँदा डीएसपी दाहालसहितको संलग्नतामा नक्कली चालक खडा गरिएको भन्दै गृह मन्त्रालयमा सुरुमा उजुरी परेको थियो । मन्त्रालयबाट प्रहरी प्रधान कार्यालय, नक्साल हुँदै छानविनका लागि प्रदेश प्रहरी कार्यालयलाई पत्राचार भएको थियो ।
उजुरीमा उनीहरुले ६ लाख रुपैयाँ लिएर नक्कली चालक खडा गरेको दाबी गरिएको थियो ।
तर प्रदेश नं. १ प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द पुरीको अध्यक्षतामा बनाएको तीन सदस्यीय छानविन समितिले आर्थिक लाभ लिएको विषय पुष्टि गर्न सकेन ।
‘तर नक्कली चालक खडा गरिएको चाहिँ पुष्टि भएकाले कारबाही गर्न सिफारिस गरेका थियौं’ समितिका एक सदस्यले भने ।